कालोपत्र गरेको तीन महिनामै भत्कियो सडक



पर्वत । पर्वतको जलजला गाउँपालिका- ७ स्थित मिलन चोक-सल्यान-घायखेत-धारापानी सडक कालोपत्र भएको तीन महिनामै भत्किएको छ ।

कमसल निर्माण र भारी वर्षाका कारण कालोपत्र भएको तीन महिना नपुग्दै सडक भत्किएको जलजला गाउँपालिका- ७ धाइरिङका वडाअध्यक्ष टुंगानाथ आचार्यले जानकारी दिए ।


सडक योजनाअन्तर्गत सल्यान पहिराको टाकुरामा करिब पचास मिटर कालोपत्र सडक भत्किएको उनले बताए ।

निर्माण व्यवसायीको लापरबाहीका कारण सडक भत्किएको उनको भनाइ । ‘सडक कालोपत्र भएको तीन महिना नहुँदै भत्किएको छ । यहाँ सल्ल्यान टाकुरालगायत स्थानहरूमा गरेर करिब डेढ सय मिटर कालोपत्र सडक भत्किएको छ’, वडाध्यक्ष आचार्यले भने ।

उक्त सडक गत जेठमा कालोपत्र गरिएको हो । निर्माण व्यवासायीले जग खनेर टेवा पर्खाल लगाउनुपर्नेमा पुरेको माटोमाथि ग्याविन जाली भरेर त्यसमाथि कालोपत्र गर्दा जनप्रतिनिधि र स्थानीयवासीले पटक-पटक ध्यानाकर्ष गराउँदासमेत बेवास्ता गरेकाले हाल समस्या भएको वडाअध्यक्ष आचार्यको जिकिर छ ।

मालढुंगा-बेनी सडकअन्तर्गत पर्ने मिलन चोकदेखि ठोट्नेरी जोड्ने १० किलोमिटर सडक स्तरोन्नति र कालोपत्र गर्न २०७६ मङ्सिर ६ गते रु २८ करोड १३ लाखमा हिमदुङ एन्ड थोकर प्रालिले ठेक्का सम्झौता गरेको थियो ।

निर्माण व्यवसायीको ढिलासुस्तीका कारण गत मङ्सिरदेखि काम सुरू भएको थियो । गण्डकी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयमार्फत सञ्चालित यो सडक २०७८ मङ्सिर ५ गते सम्पन्न गर्ने लक्ष्य थियो ।

गत आर्थिक वर्षमा पहिलो चरणमा मिलन चोकदेखि सल्ल्यानसम्म करिब चार किलोमिटर सडक कालोपत्र गरिएको छ ।

दुई वर्षमा सम्पन्न हुनुपर्ने सडक पाँच वर्षपछि कालोपत्र गरिए पनि तीन महिना नटिक्दै भत्किएको जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले बताए ।

पूर्वाधार विकास कार्यालय पर्वतका इन्जिनियर जिता गिरीले कमजोर भू-भागमा पहिरो गएका कारण सडक भत्किएको बताए । उनले निर्माण व्यावसायीले पुनर्निर्माण गरेर पहिलेकै अवस्थामा ल्याएपछि मात्र अन्तिम भुक्तानी प्रतिबद्धता व्यक्त गरे ।

यसैबीच, पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य पदम गिरी, जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्य, राजनीतिक दलका प्रतिनिधिहरू र स्थानीयवासीले भत्किएको सडकको अनुगमन गरेका थिए ।

अनुगमनका क्रममा पूर्वमन्त्री गिरीले सडक निर्माण गर्दा व्यवसायी र योजना कार्यान्वयन गर्ने निकायको गम्भीर लापरबाही देखिएकाले यसलाई पुनःनिर्माणका लागि दबाब दिने बताएका थिए ।