एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउँछौंः प्रदीप ज्ञवाली



तनहुँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिको रुपमा विकास गरिने बताएका छन्। एमाले तनहुँले आज दमौलीमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा उनले एमाले राष्ट्रिय शक्तिको रुपमा विकास भएपछि समाजवादको आधार तयार हुने बताए।

जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समाजवादको आधार निर्माण गर्नुपर्ने उल्लेख गर्दै ज्ञवालीले त्यसका लागि एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउनुपर्ने बताए। नेपालको हरेक निर्णायक क्रान्ति र निर्णायक समयमा नेकपा ९एमाले० र नेपाली कांग्रेसको सहकार्य हुने गरेको भन्दै ज्ञवालीले पछिल्लो पटक २०६२÷६३ को मौलिक क्रान्ति र संविधान निर्माणका क्रममा एमाले र कांग्रेसले सहकार्य गरेको बताए। उनले भने, “सुखी नेपाली समृद्ध नेपालको आकाङ्क्षा पूरा गर्न पनि एमाले र कांग्रेसको सहकार्य आवश्यक छ।”


विगतमा कम्युनिष्ट पार्टीको सरकार गिराउन कम्युनिष्ट पार्टीलाई नै प्रयोग गरिएको भन्दै आफूलाई कम्य्ुनिष्ट भन्नेहरु नै दुई तिहाइको सरकार गिराउन लागि परेको ज्ञवालीको भनाइ छ। एमालेका कार्यकर्ताहरु विचारबाट प्रशिक्षित हुनुपर्ने भन्दै ज्ञवालीले एमालेका कार्यकर्ताहरुले विचारमा स्पष्टता, संगठन निर्माण, प्रचारमा प्रभावकारिता, विकासको अभियन्ता, निर्वाचन परिचालक, जनताको परिचालन, स्वयंसेवी भावना, समन्वयकारी भूमिका आदि गुण हुनुपर्नेमा जोड दिए।

आजको प्रशिक्षणमा पार्टीका केन्द्रीय सचिव पद्मा अर्याल, पोलिटब्युरो सदस्य टुकराज सिग्देल, केन्द्रीय स्कूल विभागका सदस्य हस्त पण्डितलगायतका नेताहरुले सहजीकरण ग।रेका थिए ।