माओवादीले आत्मसमीक्षा गर्नुपर्ने प्रकाश सपुतको ‘पीर’



काठमाडौँ । माओवादीको दश वर्षे ‘जनयुद्ध’को बलमा मुलुकमा गणतन्त्र आयो । संविधानसभाबाट संविधान जारी पनि भयो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले पनि मुलुकको राजनीति माओवादीकै निर्देशनमा चलेको छ भन्दै अभिव्यक्ति दिँदै हिँडेका छन् ।

तर माओवादी र त्यसमापनि अध्यक्ष प्रचण्ड सत्ता राजनीतिको खेलमा लाग्दा तिनै ‘जनयुद्ध’ लडेका सयौं लडाकूको अवस्था कस्तो छ भन्ने कुरा पनि सोचेनन् । जनयुद्ध लडेका त्यस्ता लडाकूको अवस्था दयनीय छ । उनीहरुको बारेमा न माओवादीले सोच्यो न त राज्यले नै । यसै विषयलाई उजागर गर्दै गायक प्रकाश सपुतले ‘पीर’ नामको म्यूजिक भिडियो ल्याएका छन् ।


१६ मिनेटको म्यूजिक भिडियोमा प्रकाश सपुत माओवादीका पूर्वलडाकूको भूमिकामा छन् । उनले अहिले मासु पसल खोलेका हुन्छन् । मासु बेचेर लेनिनको पुस्तक ’राज्य र क्रान्ति’ किनेर अध्ययन गरिरहेका हुन्छन् । प्रकाशको र उनको पत्नी ऊर्जाको दैनिकीबाट सुरु हुन्छ कथा– ‘पीर’ तर उनको यसबाट गुजारा चल्दैन । त्यसपछि उनकी श्रीमतीले उनलाई विदेश जान आग्रह गर्छिन् ।

तर उनी विदेश नजाने अडान लिन्छन् । किनकी उनी भोकै मर्नु परेपनि यही देशमा मर्छु भन्छन् । त्यसपछि श्रीमतीले भोकै मार्छौ हाम्लाई ? भन्दै प्रश्न गर्छिन् । हाम्लाई छैन देशको माया भन्दै शरीरमा गोली लागेको घाउ देखाउँछिन् र आफू विदेश जाने बताउँछिन् । त्यसपछि उनी विदेश जान्छिन् । विदेश जान त्रिभुवन विमानस्थलमा छोरीसँग विदाइ हुँदाको दृष्य हृदयविदारक छ ।

अनि विदेश गएर उनी बन्धक बनेको र उद्दार गर्न आग्रह गरेको दृष्य मानिसको मुटु भतभत पोल्ने खालको छ । गीतमा माओवादी जनयुद्ध लडेकाहरुको अवस्था कस्तो छ भन्ने प्रष्ट अनुभूति गर्न सकिन्छ । यो म्यूजिक भिडियो हेरेपछि माओवादीले विगतका गल्ती सच्याला कि गीत बन्द गराउनेतर्फ लाग्ला ? त्यो भने केही समयपछि पक्कै थाहा हुनेछ ।