भेनेजुएलामा रहेको अर्जेन्टिनाको दूतावास ब्राजिलको नियन्त्रणमा



एजेन्सी । अर्जेन्टिनाका राष्ट्रपति जेभियर माइलीले बिहीबार भेनेजुएलामा आफ्नो देशको दूतावासको जिम्मा लिएकामा ब्राजिललाई धन्यवाद दिएका छन् । ब्युनस आयर्ससले भेनेजुएलाका राष्ट्रपतिमा निकोलस मदुरो पुनर्निर्वाचित भएकामा प्रश्न उठाएपछि कर्मचारीहरूलाई छाड्न आदेश दिएपछि ब्राजिलले अजेन्टिनाको दूतावासको जिम्मा लिएको हो ।

अर्जेन्टिना सात ल्याटिन अमेरिकी मुलुकमध्ये एक हो जसका कूटनीतिक कर्मचारीहरूलाई भेनेजुएला छाड्न भनिएको थियो । ती सात ल्याटिन मुलुकका सरकारहरूले आइतबारको निर्वाचन परिणामको पूर्ण समीक्षा गर्न आग्रह गर्दै संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेका थिए ।


भेनेजुएलाका छ जना विपक्षी व्यक्तिहरू हाल अर्जेन्टिनी दूतावासमा सुरक्षामा छन् ।

“भेनेजुएलामा अर्जेन्टिनाको दूतावासको रेखदेख गर्ने ब्राजिलको इच्छाप्रति म अत्यन्तै आभारी छु”, माइलीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “हामी अर्जेन्टिना गणतन्त्र र त्यहाँका नागरिकहरूको हितको अस्थायी प्रतिनिधित्वका लागि आभारी छौँ, तानाशाह मदुरोले आइतबार गरेको ठगीप्रति हाम्रो निन्दाको बदलामा आज अर्जेन्टिनाका कूटनीतिक कर्मचारीहरूले भेनेजुएला छाड्नुपर्यो ।”

उनले शरणार्थीहरूको भाग्यका बारेमा केही उल्लेख गरेनन् ।

अर्जेन्टिनाका विदेशमन्त्री डायना मोन्डिनोले बुधबार वासिङ्टनमा अमेरिकी राज्य सङ्गठन (ओएएस) को स्थायी परिषद्को आपत्कालीन बैठकमा मुलुकहरूलाई ‘कूटनीतिक प्रयास र शरणार्थीहरूको संरक्षणमा सहयोग गर्न’ आह्वान गरे ।

ब्राजिलसँगको कूटनीतक सम्बन्धको प्रशंसा गर्दै राष्ट्रपति माइलीले भने, “हामीले स्वतन्त्र र लोकतान्त्रिक भेनेजुएलामा चाँडै नै हाम्रो दूतावास पुनः खोल्नेछौँ भन्नेमा कुनै शंका छैन ।”

अधिकारीहरूले आइतबार भएको निर्वाचनमा मदुरोलाई विजेता घोषणा गरेपछि भेनेजुएला राजनीतिक संकटमा फँसेको छ । विपक्षीले आफ्नो उम्मेदवारले सहज अन्तरले जित हासिल गरेको प्रमाण रहेको दाबी गर्दै असन्तुष्टि जनाएको छ ।

ब्राजिल र संयुक्त राज्य अमेरिकाका साथै युरोपेली सङ्घलगायत धेरै देशले भेनेजुएलाका अधिकारीहरूसँग विस्तृत मतदान डाटा जारी गर्न माग गरेका छन् । ह्वाइट हाउसले बुधबार अन्तर्राष्ट्रिय समुदायको धैर्य समाप्त हुँदै गएको चेतावनी दिएको छ ।