रुस र छ पश्चिमी मुलुकहरू बीचको अदलाबदलीमा अङ्कारामा बिहीबार २६ जना कैदीलाई रिहा गरिएको टर्कीले घोषणा गरेको छ । रिहा हुनेमा अमेरिकी संवाददाता इभान गेर्शकोविच र अमेरिकी पूर्वमरिन पाउल ह्वेलन संलग्न छन् ।
रुसले हिरासतमा लिएका १६ पश्चिमी नागरिकको बदलामा दुई नाबालिगसहित १० रुसी नागरिकलाई सुम्पिएको टर्कीका राष्ट्रपतिले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा एमआइटी राष्ट्रिय गुप्तचर सेवाद्वारा आयोजित ‘ऐतिहासिक कैदी आदानप्रदान अभियान’ को प्रशंसा गरिएको छ ।
वाल स्ट्रिट जर्नलका पत्रकार गेर्शकोविचलाई जासुसी गरेको आरोपमा रुसी अदालतले १६ वर्षको काराबास सजाय सुनाएको केही सातापछि रिहा गरिएको थियो । गेर्शकोविच र ह्वेलनका साथै बेलारुसमा कैदमा परेका जर्मन नागरिक रिको क्राइगर, रुसी असन्तुष्ट इल्या याशिन र एक चेचेन पृथकतावादीको हत्या गरेको आरोपमा जर्मनीमा थुनिएका रुसी गुप्तचर कर्णेल वादिम क्रासिकोभ उक्त अदलाबदलीको हिस्सा रहेको विज्ञप्तिमा जनाइएको छ ।
रुसले मुक्त गरेका बन्दीहरूमा १३ जना जर्मनी र तीन जना संयुक्त राज्य अमेरिका गएका छन् । विज्ञप्तिमा संयुक्त राज्य अमेरिका, जर्मनी, पोल्यान्ड, स्लोभेनिया, नर्वे, बेलारुस र रुसबाट कैदीहरूलाई अङ्कारा पठाइएको उल्लेख छ ।
“कैदी विनिमय अभियानअन्तर्गत कैदीहरूलाई संयुक्त राज्य अमेरिकाका दुई र जर्मनी, पोल्यान्ड, स्लोभेनिया, नर्वे र रुसका एक–एक विमान गरी कूल सात विमानमार्फत टर्की लगिएको थियो”, विज्ञप्तिमा भनिएको छ ।
टर्कीले ‘हालैका वर्षहरूमा संयुक्त राज्य अमेरिका, रुस र जर्मनीबीच सबैभन्दा व्यापक कैदी आदानप्रदान भएको’ बताएको छ । “यो ऐतिहासिक अपरेसनका लागि वार्ताको च्यानलहरू एमआइटीले गरेको थियो र जुलाईमा विभिन्न पक्षहरूलाई टर्कीमा सँगै ल्याइएको थियो”, विज्ञप्तिमा उल्लेख छ ।