सानो प्रयासले विपद्बाट हुने जनधनको क्षति कम गर्न सकिन्छः मन्त्री खड्का



काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सरकारको सानो प्रयासले बाढीपहिराबाट हुने जनधनको क्षति कम गर्न सकिने बताएका छन् ।

जल तथा मौसम विज्ञान नीति–२०८१ को मस्यौदाबारे आज मन्त्रालयमा छलफल गर्दै उनले जलवायु परिवर्तनका कारण बाढीपहिरो जाँदा ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै त्यसलाई रोक्नका लागि सरकारले काम गर्नुपर्ने बताएका हुन् । “हामीले जल तथा मौसमका क्षेत्रमा पूर्वसूचना दिँदा बाढीपहिरो तथा विपद्का घटनाबाट हुनसक्ने क्षतिलाई कम गर्न सक्छौँ”, उनले भने ।


जल तथा मौसम पूर्वानुमानको क्षेत्रमा सानो प्रयासले ठूलो काम हुने भएकाले त्यसतर्फ लाग्नुपर्ने उनले बताए । मन्त्री खड्काले जल तथा मौसमका क्षेत्रमा आवश्यक ऐन, कानुन, नीति, नियम निर्माणलाई उच्च प्राथमिकता राख्नुपर्ने बताए ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव कमलराम जोशीले सन् २०२७ मा सबै जनतामा जल तथा मौसमसम्बन्धी पूर्वसूचना पुर्याउनुपर्ने बताए । उनले जल तथा मौसम विज्ञान नीति(२०८१ लाई चाँडो पास गरेर कार्यान्वयनमा लैजानुपर्ने धारणा राखे । उनले जल तथा मौसमको पूर्वानुमानलाई व्यवस्थित र भरपर्दो बनाउनका लागि आधुनिक प्रविधिको प्रयोगलाई जोड दिनुपर्ने उल्लेख गरे ।

हाल जल तथा मौसम विज्ञान विभागले तीन दिन अगाडि पूर्वसूचना दिने गरेपनि आगामी दिनमा त्यसको समयलाई बढाउनुपर्ने आवश्यक रहेको उनको भनाइ थियो । जल तथा मौसम विज्ञान विभागले हाल देशभरका आठ सय जल तथा मौसम मापन केन्द्रमार्फत पूर्वसूचना लिने गरेको छ ।