‘प्रदेश सरंचनालाई बलियो एवं सुदृढ बनाउने कार्य जारी’



मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश संरचनालाई बलियो एवं सुदृढ बनाउने कार्य जारी रहेको बताएका छन् ।

उद्योग, कृषि तथा सहकारी मन्त्रालयद्वारा आज यहाँ आयोजित आर्थिक वर्ष २०८०/८१ को दुईदिने वार्षिक समीक्षा गोष्ठीको उद्घाटन गर्दै उनले जनतालाई सेवा प्रवाहमार्फत प्रदेश संरचना आवश्यक भएको अनुभूति गराउन कर्मचारीहरुलाई निर्देशन दिए ।


मुख्यमन्त्री कार्कीले सङ्घ, प्रदेश र स्थानीय तह राष्ट्रका लागि भएकाले प्रदेशलाई स्थापित गराउन जिम्मेवारीपूर्वक लाग्नुपर्नेमा जोड दिए ।

मुख्यमन्त्री कार्कीले सरकारले कृषिमा आधारित उद्योगसँग सहकार्य गरी उत्पादन वृद्धि गर्न किसानलाई उत्पादनको समर्थन मूल्य तोक्नुपर्ने आवश्यकता औँल्याए । उनले सरकारले कृषि उद्योगको स्थायित्व, उत्पादन वृद्धि र रोजगार प्रवद्र्धनका लागि ब्याजमा अनुदानको व्यवस्था गरिएको जानकारी दिए ।

मुख्यमन्त्री कार्कीले प्रदेशमा बेरुजु घटाई सुशासन प्रत्याभूति गर्नुपर्ने बताउँदै बेरुजु फर्छ्यौट गर्नुपर्नेमा जोड दिए । प्रदेशका प्रमुख सचिव केदारनाथ शर्माले प्रभावकारी काम गरी जनताको मन जित्न कर्मचारीहरुलाई निर्देशन दिए ।

मन्त्रालयका सचिव डा लेखराज दाहालले सहकारीका माध्यमबाट कृषिमा आधारित उद्योग स्थापना गरी जनताको जीवनस्तर उकास्नुपर्ने धारणा राखे । दुई दिनसम्म सञ्चालन हुने गोष्ठीमा मन्त्रालयअन्तर्गतका १४ जिल्लाका ४८ कार्यालयले प्रगति विवरण प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।