खोलाले बगाउँदा बालकको मृत्यु



त्रिशूली (नुवाकोट) । नुवाकोटको बेलकोटगढी नगरपालिका–६ स्थित पिप्लेका एक बालकलाई आज खोलाले बगाउँदा मृत्यु भएको छ ।

सोही स्थानमा रहेको चेपिण्डे खोला तरेर खेतमा जाने क्रममा आमाको हातबाट फुत्किएर छ वर्षीय विक्रम लामिछानेलाई खोलाले बगाएर निधन भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए । उनका अनुसार बालकलाई उनको आमा बीना भण्डारी (लामिछाने)ले हात समातेर सँगै खोला तर्ने क्रममा चिप्लिँदा खोलाले बगाएर दुई सय मिटर तल पु¥याएपछि उद्धार गरिएको थियो । उद्धारका क्रममा नै बालकको घटनास्थलमा निधन भएको हो ।


खोलाको चिप्लो ढुङ्गामा पानीको बहावले लडाएसँगै आमाको हातबाट फुत्किएर बालकलाई खोलाले बगाएको हो । लड्न पुगेकी आमाले छोरालाई बचाउन प्रयास गरे पनि तत्कालै उद्धार गर्न नसक्दा निधन भएको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि त्रिशूली अस्पतालमा ल्याउन लागिएको छ ।