शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सबै मिलेर अगाडि बढ्नुपर्छः उपप्रधानमन्त्री पौडेल



पाटन। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संक्रमणकालीन न्याय र शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सबै मिलेर अगाडि बढ्नुपर्ने बताएका छन्।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा आज यहाँ आयोजित ३२औँ प्रकाश स्मृति दिवस तथा ३०औँ प्रकाश मानवअधिकार पुरस्कार वितरण कार्यक्रममा अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन्। उपप्रधानमन्त्री पौडेलले संक्रमणकालीन न्याय र शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सबै मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिए।


‘विगतमा द्वन्द्वबाट गुज्रिएको नेपालमा द्वन्दको अवस्थालाई त अन्त्य ग¥यौँ तर सङ्क्रमणकालीन न्याय र शान्ति प्रक्रियाका काम बाँकी छन्। यी काम पूरा गर्ने जिम्मेवारी मानवअधिकारकर्मी, नेपाल सरकार, नागरिकसमाजलगायत सबैको हो। सबै मिलेर अगाडि बढ्न आवश्यक छ । पीडितको पक्षमा हुने गरी द्वन्द्वका बाँकी कामलाई अन्त्य गर्न लाग्नुपर्छ’, उनले भने।

उपप्रधानमन्त्री पौडेलले लोकतन्त्र नभई मानवअधिकार प्रयोगको अवस्था रहँदैन भन्नेमा नेपाल सरकार प्रष्ट र यसको संरक्षणका लागि प्रतिबद्ध रहेको धारणा राखे। ‘लोकतन्त्रविना मानवअधिकारको रक्षा हुन सक्दैन । यसर्थ मानवअधिकारको रक्षा र सबल अवस्थाका निर्माणका लागि लोकतन्त्र अपरिहार्य छ । यसमा नेपाल सरकार प्रतिबद्ध छ’, उनको भनाइ थियो।

उपप्रधामन्त्री पौडेलले मानवअधिकारको संरक्षणका लागि राज्यलाई जिम्मेवार बनाउन र नेपालमा न्याय मर्ने छैन भन्ने विश्वास दिलाउन सबै मिलेर थप कार्य गर्न आवश्यक रहेकामा जोड दिए। उनले मानवअधिकारको पक्षमा इन्सेकले गरेको भूमिका प्रशंसनीय रहेको बताए।

इन्सेकका संस्थापक अध्यक्ष तथा मानवअधिकार आयोगका पूर्वसदस्य सुशील प्याकुरेलले आफूमाथि भएको अन्याय र न्यायका लागि लड्नु मानवअधिकार क्षेत्रको ठूलो आन्दोलन हो भने। उनले द्वन्द्व सकिएपछि सङ्क्रमकालीन न्याय मुख्य सरोकारको विषय भएकाले यसमा सबै गम्भीर हुनुपर्ने बताए।

राष्ट्रिय मानवअधिकार आयोगका सदस्य लिली थापाले मानवअधिकारको रक्षाका लागि मानवअधिकारका विषयमा व्यापक सचेतता जगाउन आवश्यक छ भनिन्।

इन्सेकका अध्यक्ष डा कुन्दन अर्यालले संक्रमणकालीन न्यायको विषयमा नेपाल सरकारको धारणा सकारात्मक रहेको बताए। इन्सेकले यसवर्षको प्रकाश मानवअधिकार पुरस्कार काभ्रेको नमोबुद्ध नगरपालिका–९ दाप्चाकी पूर्णिमाया लामा तामाङलाई प्रदान गरेको हो। उनी संक्रमणकालीन न्यायका लागि संघर्षरत छिन्। पुरस्कार ग्रहणपश्चात मन्तव्य राख्दै तामाङले निर्दोष मान्छेलाई अपहरण गरी हत्या गर्नेलाई कारबाहीका लागि आफू सङ्घर्षमा रहेको र ढिलै भएपनि न्याय मिल्ने आशा रहेको बताइन्।

गतवर्ष २९औँ प्रकाश मानवअधिकार पुरस्कार कपिलवस्तुकी रुकैया खातुनलाई प्रदान गरिएको थियो। पुरस्कारको राशि रु ५० हजार रहेको छ। ३२औँ प्रकाश स्मृति दिवस तथा ३०औँ प्रकाश मानवअधिकार पुरस्कार वितरण कार्यक्रमको अवसर पारेर इन्सेकले ‘साउथ एसियन ह्युमन राइट्स जर्नल’ प्रकाशन सुरुआत गरेको छ। जर्नल त्रैमासिक रूपमा प्रकाशन हुने इन्सेक अनलाइनका सम्पादक रमेशप्रसाद तिमल्सिनाले जानकारी गराए।

इन्सेकका संस्थापक महासचिव प्रकाश काफ्लेको श्रीलंकामा भएको कार्यक्रमबाट नेपाल फर्कने क्रममा २०४९ साउन १६ गते थाइ एअरको दुर्घटनामा परेर निधन भएको थियो। दुर्घटनामा काफ्लेसहित एक सय १४ जनाको निधन भएको थियो। मानवअधिकार अभियानमा क्रियाशील रहेकै समयमा दिवंगत भएका काफ्लेको सम्झनामा इन्सेकले प्रत्येक वर्ष ५० हजार राशिको ‘प्रकाश मानवअधिकार पुरस्कार’ प्रदान गर्दै आएको छ।