सुदूरपश्चिममा सवारी दुर्घटनाबाट एक वर्षमा एक सय ७२ को मृत्यु



अत्तरिया (कैलाली) । गत आर्थिक वर्ष ०८०/८१ मा सुदूरपश्चिम प्रदेशमा सवारी दुर्घटनाबाट १७२ जनाको मृत्यु भएको छ । सो अवधिमा सवारी दुर्घटनाबाट १३७ पुरुष, २३ महिला, सात बालक र पाँच बालिकाको मृत्यु भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अनिलकुमार उप्रेतीले जानकारी दिए । उनका अनुसार सवारी दुर्घटनामा परी गम्भीर र सामान्य गरी ५३६ जना घाइते भएका छन् । जम्मा ३०९ वटा सवारी दुर्घटना भएका थिए । दुर्घटना भएका सवारीसाधनमध्ये सबैभन्दा बढी मोटरसाइकल रहेको उनले जानकारी दिए । 

उनका अनुसार २०७ मोटरसाइकल, ५० जिप–कार, ४० ट्र्याक्टर, २४ बस, १७ टेम्पो, १९ ट्रक–ट्यांकर, नौ टिपर, सात माइक्रो, तीनवटा डोजर र ३० अन्य सवारीसाधन गरी ४०६ वटा सवारीसाधन दुर्घटना भएका थिए । दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै आएको उनको भनाइ छ । गत आवमा ६ हजार ६२६ वटा जनचेतनामूलक कार्यक्रम गरेको तथा उक्त कार्यक्रमबाट तीन लाख ८९ हजार २६६ जना लाभान्वित भएका छन् ।


गत आवमै ट्राफिक नियम उल्लंघन गर्ने ७३ हजार ४७९ जना सवारीचालक कारबाहीमा परेको र उक्त कारबाहीबाट चार करोड ८९ लाख ८७ हजार राजस्व संकलन भएको प्रवक्ता उप्रेतीले जानकारी दिए । ‘मादक पदार्थ सेवन गरी सवारी चलाउँदा, तीव्र गति, चालकको लापरबाहीलगायत कारणले बढी दुर्घटना हुने गरेको पाइएको छ,’ उनले भने, ‘अघिल्लो वर्षको तुलनामा नियम उल्लंघन गर्नेको संख्या घटेको छ । दुर्घटनाको संख्या भने घट्न सकेको छैन । ज्यान गुमाउनेको संख्या घटेको छ ।’

आर्थिक वर्ष ०७९/८० मा २५५ सवारी दुर्घटना हुँदा १७७ जनाको मृत्यु भएको थियो । सो आवमा सामान्य र गम्भीर गरी ४७३ जना घाइते भएका थिए । ट्राफिक नियम उल्लंघन गर्ने एक लाख १२ हजार ६५५ सवारीचालक कारबाहीमा परेका थिए । उक्त कारबाहीबाट ६ करोड ४३ लाख ७२ हजार राजस्व संकलन भएको थियो ।