काठमाडौंका नदीमा जलसतह खतराको सिमा नजिक, सावधानी अपनाउन आग्रह



काठमाडौं । काठमाडौं उपत्यकामा गएराति भएबमे भारी वर्षाले वाग्मती र यसका सहायक नदीहरू हनुमन्ते, मनोहरा, धोविखोला, विष्णुमती, नख्खु, बल्खुखोलामा जलसतह सतर्कता तहदेखि खतराको तह आसपास रहेको छ ।

जल तथा मौसम विज्ञान विभागले एक सुचना जारी गर्दै खोलाको बाढी किनारको सडकसम्म आउने र बस्तीमा डुबान समेत हुनसक्ने देखिएकाले सडक निकारबाट यात्रा नगर्न विभागले आग्रह गरेको छ । डुबान हुने स्थानमा रहनेहरू बिहान १० बजेसम्म सुरक्षित स्थानमा रहनुपर्ने विभागले जनाएको छ ।


ललितपुरको गोदावरी खोला थाइबाको जलमापन केन्द्रमा हालको जलसतह खतराको तह पार गरेको छ । जलसतह बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्रमा बाढीको जोखिम रहेको छ । उक्त क्षेत्रमा रहनेहरूलाई बिहान ९ बजेसम्म उच्च सतर्कता अपनाउन विभागको अनुरोध छ ।

भक्तपुरको हनुमन्ते खोला जगाती जलमापन केन्द्रको जलसतह सतर्कता तह पार गरेको छ । जलसतह बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्रमा रहनेहरू र नदी किनारबाट यात्रा गर्नेहरूले सतर्कता अपनाउनुपर्ने विभागको भनाइ छ । काठमाडौंको धोबीखोला, चाबहित र वाग्मती गौरीघाट जलमापन केन्द्रहरूमा जलसतहले सतर्कता तह पार गरेको विभागले जनाएको छ ।