मानव बेचबिखनमा शून्य सहनशीलता हुनुपर्छ : गृहमन्त्री लेखक



ललितपुर । गृहमन्त्री रमेश लेखकले मानव बेचबिखन जस्तो भयानक विश्वव्यापी अपराधमा शून्य सहनशीलता हुनुपर्ने बताएका छन् । 

मानव बेचबिखनविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले आज ललितपुरको नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज)मा आयोजना गरेको विशेष कार्यक्रममा उनले प्रहरीको प्रयासले मात्रै यस किसिमको अपराध न्यूनीकरण हुन सक्दैन सबैको सहयोग आवश्यक रहेको बताए । उनले स्थानीय तह, विद्यालय तहका विद्यार्थी, शिक्षक समेतले मिलेर सचेतना जगाउने कार्यमा लाग्नुपर्नेमा जोड दिए ।


“मानव बेचबिखन अन्तर्राष्ट्रिय जघन्य अपराधका रूपमा लिइएको छ, यो अपराधको दुष्प्रभाव एउटा भूगोलमा मात्रै सीमित छैन, यसलाई साझा दुस्मनका रूपमा लिएर निरूपण गर्नुपर्छ, यो विश्वव्यापी दुष्चक्र लागुऔषधसरहको अपराधका रूपमा लिएर अनुसन्धानका लागि तीन महिनासम्म राखेर अनुसन्धान गर्ने व्यवस्था हुनुपर्छ,” गृहमन्त्री लेखकले भने, “यसलाई अत्यन्त गम्भीर प्रकृतिको अपराधको श्रेणीमा राखेर अपराधको अनुसन्धानमा देशको कुनै सीमाले प्रभावित नपार्नेगरी काम गर्न सहयोग पुग्नेगरी कानुन निर्माण गर्नुपर्छ ।” 

मानव बेचबिखनविरुद्धको अपराधमा काम गर्न मानवीय जनशक्तिको अभावमा मात्रै काम रोकिने अवस्था आउन नदिइने बताउँदै उनले स्रोत र साधनको उपयोग गरेर अपराध न्यूनीकरणमा नेपाल प्रहरीले गरिरहेको काम राम्रो भएको भन्दै प्रशंसा गरे । गृहमन्त्री लेखकले स्थानीयस्तरमा विद्यार्थी र शिक्षकमार्फत सार्वजनिक बिदाका दिन मानव बेचबिखनविरुद्ध सचेतना अभियान सञ्चालन गर्नुपर्ने बताए ।

गृहसचिव एकनारायण अर्यालले मानव बेचबिखन विश्वको साझा चासो, चुनौती र सरोकारको विषय भएको बताउँदै खोज, प्रमाण र तथ्यका आधार अपराधीलाई मुद्दा चलाउन सूचना उपलब्ध गराएर अनुसन्धानमा सहयोग पुर्‍याउन सबैमा आग्रह गरे ।

“भिजिट भिसाको बहानामा बेचबिखन हुने समस्या सुनिन्छ, विभिन्न देशमा लगेर बन्धक बनाउने काम पनि भइरहेको छ, यसका विरुद्ध नेपाल प्रहरी र ब्युरो लागिरहेको छ”, उनले भने ।

नायक महान्यायाधिवक्ता डाक्टर टेकबहादुर घिमिरेले मानव बेचबिखनविरुद्धको नीति तथा कानुनको व्यवस्था चन्द्रशम्शेरको पालामा नै जारी भएको जानकारी गराउँदै विभिन्न समयमा परिमार्जित हुँदै विसं २०६४ मा ऐन जारी गरेर मानव बेचबिखन तथा ओसारपसारविरुद्ध कामकारबाही र न्यायनिरुपणको काम हुँदै आएको जानकारी गराए ।

महानिरीक्षक वसन्तबहादुर कुँवरले मानव बेचबिखन तथा ओसारपसार अपराध विश्वव्यापी मानवताविरुद्धको अन्तरदेशीय गम्भीर अपराध भएको धारणा राखे । उनले एउटामात्रै संस्थाको पहलले मात्रै सफल नहुने भन्दै सबैको सहयोग आवश्यक रहेको बताए ।

ललितपुर महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले बेचबिखनविरुद्ध सकरात्मक सोच र भूमिकाको विकास गरिनुपर्ने बताउनुभयो उहाँले सचेतता अभियान प्रत्येक घरघरमा पुर्‍याइनुपर्ने बताउँदै मानिसको मानसिकता बदल्न, सुधार्न आवश्यक रहेको बताइन् ।  

हरेक वर्षको जुलाई ३० तारिका दिनलाई मानव बेचबिखनविरुद्धको अन्तर्राष्ट्रिय दिवसको रूपमा मनाइँदै आएको छ । सोही अवसरमा नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले आज आयोजना गरेको कार्यक्रममा तीन सय जनाभन्दा बढी सरोकारवालाहरु, विद्यार्थीसमेतको सहभागिता रहेको थियो ।