ताप्लेजुङ गोल्डकपमा आठ टिम सहभागी हुने



ताप्लेजुङ। ताप्लेजुङमा आगामी भदौमा सञ्चालन हुने दोस्रो संस्करणको ताप्लेजुङ गोल्डकपमा त्रिभुवन आर्मी क्लबसहित आठ टिम सहभागी हुने भएका छन्। भदौ ३ गतेदेखि सदरमुकामस्थित भानुजन माध्यमिक विद्यालयको खेल मैदानमा हुने खेलमा ताप्लेजुङको प्रतिनिधित्व संघर्ष स्पोर्टिङ क्लब उकालापानीले गर्नेछ।

प्रतियोगितामा वाईवाई पाँचथर फुटबल क्लब पाँचथर, सगरमाथा यूथ स्पोटिङ क्लब मोरङ, सलहेस युथ क्लब सिराहा, बुटवल लुम्बिनी एफसी र भारतको सिलगढीबाट एक टिम सहभागी हुने छन्। भारत र झापाबाट एक एक टिम सहभागी हुने निश्चित भए पनि टिमको नामावली प्राप्त भई नसकेको आयोजक लाखे जात्रा खेल सञ्चालक समितिका अध्यक्ष देवराज गुरुङले बताए।


प्रतियोगिता सञ्चालनबारे जानकारी दिन आज सदरमुकाममा आयोजना गरिएको पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार गत वर्ष सहभागी भएका कुनै पनि टिम यो वर्षको प्रतियोगितामा सहभागी हुने छैनन्। यस्तै यसवर्षको प्रतियोगितामा पुरस्कारको राशि बढाइएको छ। यसवर्षको विजेताले नगद रु पाँच लाख पाँच सय ५५ सहित कप, मेडल र प्रमाणपत्र पाउने छ भने उप विजेताले कप, मेडल र प्रमाणपत्रसहित नगद रु दुई लाख ५० हजार पाँच सय ५५ प्राप्त गर्ने आयोजकले जनाएको छ।

प्रत्येक खेलमा म्यान अफ दि म्याच घोषित गरिने र विजेता खेलाडीलाई नगद रु पाँच हजार प्रदान गरिने छ भने विभिन्न आठ वटा विधामा उत्कृष्ट खेलाडीलाई पुरस्कृत गरिने बताइएको छ। जसअनुसार सर्वोत्कृष्ट खेलाडीलाई ट्रफी, मेडल र प्रमाणपत्रसहित नगद रु १५ हजार दिइने छ। प्रतियोगिताको सर्वाधिक गोलकर्ता, उत्कृष्ट फरवार्ड, उदयमान खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट कोचलाई जनही मेडल र प्रमाणपत्र सहित रु १०/१० हजार प्रदान गरिनेछ।

यो वर्ष पनि खेल अवलोकन गर्नेले क्वाटरफाइनलमा एक सय, सेमिफाइनलमा र फाइनलमा क्रमशः दुई सय र रु दुई सय ५० दरका टिकट लिनुपर्ने आयोजकले जनाएको छ। खेल सञ्चालनका खेल मैदान व्यवस्थापन सहितका आवश्यक तयारी भइरहेको बताइएको छ।