ज्यान मुद्दामा दोषी ठहर भएका बमजनलाई जिल्ला अदालत सिन्धुपाल्चोकद्वारा ३ लाख धरौटी माग



काठमाडौँ । आफूलाई तपस्वी बताउने रामबहादुर बम्जनलाई व्यक्ति बेपत्ता पार्ने सम्बन्धी कसुरमा जिल्ला अदालत सिन्धुपाल्चोकले तीन लाख रुपैयाँ धरौटी माग गरेको छ । बम्जनलाई सर्लाही जिल्ला अदालतले असार १७ गते बाल यौन दुरुपयोगको मुद्दामा १० वर्ष कैद र ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला सुनाएको थियो । 

अदालतको फैसलापछि कैद भुक्तान गरिरहेका उनलाई अर्को मुद्दा अगाडि बढाउन सिन्धुपाल्चोक लगिएको थियो । अदालतको आदेशपछि उनलाई सिन्धुपाल्चोक कारागार लगिएको छ । 


जिल्ला अदालत सिन्धुपाल्चोकले बम्जनले व्यक्ति बेपत्ता पारेको भन्दै दायर भएको मुद्दामा सोमबार सुनुवाइ गर्दै तीन लाख रुपैयाँ धरौटी माग गर्ने आदेश  गरेको हो ।

वीरबहादुर रुम्बाले आफ्नी छोरी फूलमाया रुम्बालाई बेपत्ता पारेको भन्दै प्रहरीमा जाहेरी दिएका थिए । उक्त जाहेरीमा प्रहरीले अनुसन्धान सकेपछि सरकारी वकिल कार्यालयले साउन १३ गते आइतबार मुद्दा दायर गरेको थियो । न्यायाधीश भगवती शर्मा ढुंगानाको इजलासले बम्जनसँग ३ लाख धरौटी माग गर्ने आदेश गरेको हो । अदालतले धरौटी माग गरेपनि उनी तत्कालै धरौटी  बुझाएर रिहा भने हुने  छैनन् । 

यसअघि अर्को मुद्दामा दोषी ठहर भएकाले उक्त कैद भुक्तानीका लागि उनी थुनामा रहने छन् ।  बम्जनलाई अब नुवाकोट र जाहेरी रहेको अन्य अदालतमा क्रमशः पेस गरिने छ  ।