मुस्ताङमा नयाँ प्रजातिको चरा भेटियो



म्याग्दी । मुस्ताङमा तालुधर्से अर्जुनक नामको नयाँ प्रजातिको चरा भेटिएको छ । चराविद् सञ्जय था श्रेष्ठ र शङ्कर तिवारीले उपल्लो मुस्ताङको समर क्षेत्रमा नयाँ प्रजातिको चरा फेला पार्नुभएको नेपाल पन्छीविद् सङ्घले जनाएको छ । 

नेपाल बर्ड रेकर्ड कमिटि (चरा अभिलेख तथा प्रमाणीकरण गर्ने समिति) का अध्यक्ष डा तुल्सी सुवेदीले श्रेष्ठ र तिवारीले उक्त तिनधर्से अर्जुनक जातको चरा नेपालमा पहिलो पटक भेटिएको विज्ञप्तिमार्फत जानकारी दिए । स्पोटेड फ्लाइक्याचर (Spotted Flycatcher) अंग्रेजी नाम भएको उक्त चराको वैज्ञानिक नाम मुसिकापा स्ट्रिएटा (Muscicapa Striata) रहेको कमिटीका अध्यक्ष सुवेदीले जानकारी दिए । 


समुन्द्री सतहबाट तीन हजार छ सय ५० मिटर उचाइमा यही साउन २ गते बिहान पदयात्राका क्रममा श्रेष्ठ र तिवारीले खिचेको सो चराको तस्वीर पुष्टिका लागि नेपाल बर्ड रेकर्ड कमिटिमा पठाएका थिए । उपलब्ध प्रमाण, विवरण अध्ययन र राष्ट्रिय अन्तर्राष्ट्रिय पन्छीविद्सँगको सुझावका आधारमा तालुधर्से अर्जुनक भएको पुष्टि गरी नेपालमा पाइने चराको अभिलेखमा प्रजाति थप गरिएको अध्यक्ष सुवेदीले बताए । 

धर्से अर्जुनकसहित नेपालमा चरा प्रजातिको सङ्ख्या आठ सय ९६ वटा पुगेका छन् । अर्जुनक प्रजातिको सङ्ख्या २४ पुगेको छ । नेपालबाट सबैभन्दा नजिक मङ्गोलिया, उत्तरी चीनको विभिन्न ठाउँ, पश्चिमतर्फ अफगानिस्तान, पाकिस्तानमा यो चरा पाइन्छ । 

जाडो याममा यिनीहरू नियमित रूपमा दक्षिणतिर बसाइँ सर्छन् । मुस्ताङमा भेटिएको यो चरा बसाइँसराइको क्रममा बाटोमा फिरन्ते रूपमा आइपुगेको हुन सक्ने अनुमान गरिएको चराविद् सञ्जय श्रेष्ठले बताए ।