सिमलताल दुर्घटना : त्रिशूलीमा हराएको चुम्बक भेटियो, बस भेटिएन



काठमाडौं । सिमलताल दुर्घटनामा बेपत्ता बस खोजी गर्ने क्रममा त्रिशूलीमा हराएको चुम्बक फेला परेको छ। बस खोज्ने क्रममा हराएको भारतीय उद्धार टोलीले ल्याएको १९ किलोको चुम्बक आइतबार आइतवार काभ्रेघाटस्थित नारायणी नदीमा फेला परेको हो। चुम्बकसँगै लाइफ ब्वाइ ट्युब पनि फेला परेको छ।

बस खोजी गर्नका लागि नेपाल आएको भारतीय टोली आइतवार नै फर्किसकेका छन्। गत असार २८ गते वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–२४९५ ख ००१ नम्बरको गणपति डिलक्स बस चितवनको सिमलतालमा पहिरोसँगै त्रिशूली नदीमा बेपत्ता भएको थियो।


दुबै बसमा गरी ६५ जना यात्रु सवार थिए। तीमध्ये ३ जनाले ज्यान जोगाएका थिए भने अन्य ६२ जना यात्रु बससँगै नदीमा बेपत्ता भएका थिए। दुर्घटना लगतै बस र बसमा सवार यात्रुको खोजी कार्य सुरु गरिएकोमा हालसम्म २४ जनाको मात्रै शव फेला परेको छ। ती मध्ये १९ जना यात्रुको सनाखत भइसकेका छ भने पाँच वटा शवको अझै पहिचान हुन सकेको छैन।