घरमै काम गर्ने युवकले गरेका थिए पूर्वराज्यमन्त्री रायको हत्या



काठमाडौं । पूर्व राज्यमन्त्री रामचन्द्र रायको हत्या उनकै घरमा काम गर्ने युवकले गरेको खुसाला भएको छ ।

गत साउन ६ गते राति सर्लाहीको चन्द्रनगर गाउँपालिका वडा नम्बर १ स्थित रतनपुरमा रहेको फार्म हाउसमा टाउकोमा धारिलो हतियार प्रहार गरी रायको हत्या भएको थियो ।


अुनसन्धानका लागि प्रहरी हिरासतमा रहेका उनका सहयोगी मदनपुर घर भएका २१ वर्षीय रामउजैन राय यादवले आफुले नै रामचन्द्रको हत्या गरेको स्वीकारेको एक प्रहरीले बताए ।

प्रहरीका अनुसार रायको हत्या गरी रामउजैनले आफुले लगाएको गन्जी घर छेउमै फालेका थिए । हत्या गर्न प्रयोग गरेको उखु काट्ने फर्सा घरबाट ५० मिटरको दुरीमा झाडीमा भेटिएको थियो ।

हत्याको राति उनले जग्गाको विवाद मिलाइदिनू भन्दै तीन जना अपरिचित व्यक्ति करिब ८ बजे घरमा आएको देखेको र उनैले हत्या गरेको हुनसक्ने प्रहरीलाई बताएका थिए ।

राति १२ बजेतिर आफू पिसाव फेर्न तल झरेको बेला राय सुत्ने कोठा खुला रहेको र ओछ्यान छेउमा रगतले लतपतिएको अवस्थामा लडेको देखेको रामउजैनको भनाइ थियो ।

तर विभिन्न कोणबाट अनुसन्धान गरेपछि उनैले रायको हत्या गरी झुक्याउन खोजेको प्रहरीले निष्कर्ष निकालेको छ ।