पार्टीलाई बलियो बनाउन वैचारिक शक्ति एक हुन आवश्यक छ : आचार्य



चितवन । नेपाली कांग्रेसका नेता महेश आचार्यले कांग्रेसभित्र गुट–उपगुट हाबी हुँदा पार्टी अहिलेको अवस्थामा आएको बताएका छन् । प्रजातान्त्रिक विचार समाज चितवनले आज यहाँ आयोजना गरेको २५ औँ साधारणसभा तथा वैचारिक कार्यक्रममा उनले पार्टीलाई बलियो बनाउन वैचारिक शक्ति एक हुन जरुरी रहेको बताए ।

उनले भने, “प्रजातान्त्रिक विचार समाजले कांग्रेसलाई सुधार गर्न लाग्नुपर्छ ।” अहिले कांग्रेस–कम्युनिष्टहरूसँग नजिकिँदा यो अवस्था आएको भन्दै उनले अब कांग्रेसलाई सुधारको बाटोमा लैजान आवश्यक रहेको बताए । आम जनताको गुनासो सुन्दै कांग्रेस सुधार गर्नु अहिलेको आवश्यकता रहेको उनको भनाइ थियो ।


कांग्रेसका केन्द्रीय सदस्य डा.गोविन्दप्रसाद पोख्रेलले अहिलेको बजेट र यसले समाजमा पार्ने प्रभावका बारेमा धारणा राखेका थिए । अर्का केन्द्रीय सदस्य टेकप्रसाद गुरुङले कांग्रेसभित्रको असहमति आपसी छलफलबाट टुङ्ग्याएर अघि बढ्नसके मात्रै राम्रो हुने बताए । सहमति र छलफलका लागि मध्यस्थकर्ताको भूमिकामा विचार समाजले काम गर्नुपर्ने उनले बताए ।

समाजका अध्यक्ष  कुलचन्द्र वाग्लेले समाज पार्टीको भ्रातृ संस्था नभएको भन्दै पार्टीभित्रको समस्या समाधान गर्नुपर्छ भन्ने शुभेच्छा प्रकट गर्ने र मध्यस्थर्ताका भूमिका निर्वाह गर्ने बताए ।

सो अवसरमा समाजका निवर्तमान अध्यक्ष डा.केदारनरसिंह केसीले वर्तमान राजनीतिक अवस्थाका सकारात्मक र सुधारात्मक पक्षका विषयमा आफ्नो धारणा राखेका थिए । समाजका जिल्ला अध्यक्ष सुरेशचन्द्र आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका नेता डा.शोभाखर पराजुली, नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाललगायतले आफ्ना धारणा व्यक्त गरेका थिए ।