२ मिनेटमै सकियो सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशन, अर्को बैठक अनिश्चित



सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशन २ मिनेटमा नै सकिएको छ ।

मंगलबारका लागि डाकिएको विशेष अधिवेशनमा सभामुख भीम भण्डारीले प्रदेश प्रमुखको कार्यालयबाट अधिवेशन आह्वान गरेको पत्र वाचन गरेर सुनाएपछि बैठक सकिएको हो । अर्को बैठक बस्ने मिति तय गरिएको छैन् ।


सत्ता साझेदार दल नेकपा एमाले सरकारबाट बाहिरिएपछि सूदूर सरकार अल्पमतमा परेको छ । मुख्यमन्त्री दीर्घ सोडारी नेतृत्वको सरकार अल्पमतमा पर्दा प्रदेश सभाबाट बजेट पारित हुन सकेको छैन् ।

तत्कालीन अर्थमन्त्री सुरेन्द्रबहादुर पालले असार १ गते बजेट सार्वजनिक गरेका थिए । तर, केन्द्रमा सत्ता समीकरण फेरिएपछि एमाले असार २० गते सरकारबाट बाहिरिएको थियो । असार मसान्तसम्म बजेट पारित हुनुपर्नेमा एमाले सरकारबाट बाहिरिएपछि बजेट पारित हुन सकेको छैन् । बजेट पारित नहुँदा खर्च शून्यताको स्थिति देखा परेको छ ।

अल्पमतमा परेका मुख्यमन्त्री सोडारीले बजेट शून्यता आएपछि असार २९ गते चालु अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख नाजिर मियासमक्ष पत्र पठाएका थिए । तर, मिया प्रधानमन्त्री केपी शर्मा ओलीको शपथ समारोहमा सहभागी हुन काठमाडौं हिँडेपछि त्यसै अलपत्र परेको थियो । मिया केहही दिन काठमाडौंमा रहने जानकारीपछि मुख्यमन्त्री सोडारीले अधिवेशन अन्त्यको पत्र काठमाडौंमा नै पठाएका थिए । मियाले साउन ४ गेत अधिवेशन अन्त्यको घोषणा गरेका थिए ।

प्रदेश प्रमुखले अधिवेशन अन्त्य गरेपछि नेकपा एमाले र कांग्रेसका २१ जना सांसदले लिखित आग्रह गर्दै विशेष अधिवेशनको माग गरेपछि प्रदेश प्रमुखले आजका लागि बैठक बोलाएका थिए ।