लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा गिरीले दाबी पेस गर्दै



बुटवल । नेकपा एमाले लुम्बिनी संसदीय दलका नेता लीला गिरी सो प्रदेशका नयाँ मुख्यमन्त्री बन्ने भएका छन् । गिरीलाई नियुक्तिको लागि कांग्रेस र एमालेले सोमबार संयुक्त रूपमा दाबी पेस गर्ने तयारी रहेको छ । 

नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका जोख बहादुर महराले राजीनामा दिएसँगै नेपाली कांग्रेस र एमालेको गठबन्धन लीला गिरीलाई मुख्यमन्त्री  बनाउन सहमत भएको हो । दुई दलमा भएको सहमतिअनुसार एमालेको भागमा मुख्यमन्त्री परेसँगै गिरीलाई उम्मेदवार बनाउने पार्टीले निर्णय गरेको प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले जानकारी दिए ।


लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि आइतबार नै आह्वान भइसकेको छ । लुम्बिनीका प्रदेश प्रदेश अमिक शेरचनले नयाँ सरकार गठनका लागि दलहरूलाई सोमबार साँझ ६ः३० बजेसम्मको समय दिएर दाबी पेस गर्न आह्वान गरेका हुन् । 

प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिमको नयाँ सरकार गठनका लागि आह्वान गरिएको प्रदेश प्रमुखको कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।