बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका लेखा अधिकृत घुससहित पक्राउ



चितवन। बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरकी लेखा अधिकृत अमृता कोइरालालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित पक्राउ गरेको छ।

अख्तियारको टोलीले कोइरालालाई भरतपुर महानगरपालिका वडा नं। ७ कटहर चोकस्थित बालाज रेस्टुरेन्टबाट आज दिउँसो घुससहित पक्राउ गरेको हो।


आयोग हेटौँडाका सूचना अधिकारी गोविन्दप्रसाद गौतमले कोइरालालाई रु एक लाख ५० हजार नगद र रु चार लाख ५० हजारको चेकसहित पक्राउ गरिएको जानकारी दिए।

कोइरालाले उक्त घुस रकम एक औषधि कम्पनीसँग लिन लागेको बेला अख्तियारले पक्राउ गरेको उनको भनाइ छ । अस्पतालको औषधि खरिदको भुक्तानी गर्दा कोइरालाले घुस लिन लागेको बताइएको छ।