जनतालाई सुशासन अनुभूति हुनेगरी सरकारले काम गर्नुपर्नेमा जोड



काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले जनतालाई सुशासन अनुभूति हुनेगरी वर्तमान सरकारले काम गर्नुपर्ने बताएका छन् ।

जननायक विश्वेश्वरप्रसाद कोइरालाको ४२औँ स्मृति दिवसका अवसरमा आज बिपी कोइराला मेमोरियल अस्पतालले आयोजना गरेको स्मृतिसभामा उनले संसद्का दुई ठूला दल एकै ठाउँमा उभिएकाले वर्तमान सरकारलाई गल्ती गर्ने छुट नभएको बताए ।


“जनताले सुशासनको महसुस गर्नेगरी वर्तमान सरकारले काम गर्नुपर्छ, वर्तमान गठबन्धनले सुशासन र राजनीतिक स्थायित्व दिन्छ भन्ने सन्देश दिएकाले कांग्रेस र एमाले सचेत हुनुपर्छ”, डा कोइरालाले भने ।

आफ्नो पार्टी सरकारमा छ त्यसैले उनीहरुले गरेका सबै काम ठीक छन् भनेर कोही पनि चुप लागेर बस्न नहुनेमा उनले जोड दिए । नेता डा कोइरालाले वर्तमान परिप्रेक्ष्यमा बिपी कोइरालाको सिद्धान्तअनुसार कांग्रेसका नेता एवं कार्यकर्ता हिँड्न नसकेका धारणा राखे ।