डोल्पा केन्द्रीय प्रसारण लाइन विस्तार गरिँदै



जाजरकाेट । डोल्पा पनि अब केन्द्रीय प्रसारण लाइनमा जोडिने भएको छ । विद्युतीकरण नभएका कर्णालीको डोल्पामा केन्द्रीय प्रसारण लाइनको विस्तार कार्य द्रुतगतिले अगाडि बढेको हो । चालु आर्थिक वर्षको असार महिनाभित्र डोल्पामा केन्द्रीय प्रसारण लाइन पु¥याउने लक्ष्य लिएको बताइएको छ ।

प्रसारण लाइन विस्तार गर्ने जिम्मेवारी लिएको सताग्री निर्माण सेवाले विगत ३ वर्षसम्म काम नगरेपछि विद्युत् प्रसारण लाइनको काम रोकिएको थियो । निर्माण व्यवसायीलाई छिटो काम गर्न अन्तिम अल्टिमेटम दिएको र काम नगरे विकल्पसमेत खोज्ने तयारी भएपछि डोल्पामा विद्युत् पुग्ने आशा पलाएको हो ।


कर्णाली प्रदेशका जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले पटक पटक ताकेता गरेपछि नेपाल विद्युत् प्राधिकरणले असार मसान्तभित्र जसरी पनि डोल्पामा विद्युत् पु¥याउने योजनाका साथ काम भइरहेको प्राधिकरण कर्णाली प्रदेशका प्रमुख शम्भु यादवले बताए ।

सताग्री निर्माण सेवाले जाजरकोटको कुदु सव स्टेशनदेखि चौखा हुँदै डोल्पाको त्रिपुराकोटसम्म प्रसारण लाइन निर्माणको ठेक्का लिएको छ । जिम्मेवारी लिए पनि कुनै पनि ठाउँँमा काम नगर्दा समस्य हुँदै आएको हो । डोल्पामा विद्युतीकरण गर्नका लागि चौखामा सवस्टेशन निर्माण कार्य जारी छ ।

हप्ता दिनभित्र डोल्पाको त्रिपुराकोटमा सव स्टेशन निर्माण गर्नका लागि बोलपत्र खोल्न थालेको प्रमुख यादवले बताए । असार मसान्तभित्र डोल्पा र मुगुमा बत्ती बाल्ने काम पूरा गरेरै छाड्ने उनले बताए । निर्माण व्यवसायीले काम नगरे प्राधिकरणले आफ्नै स्रोतबाट काम गरेर भए पनि डोल्पासम्म केन्द्रीय प्रसारण लाइनमा पु¥याउने लक्ष्य लिएको उनको भनाइ छ ।

स्थानीय जैरीगाड खोलाबाट उत्पादन गरिएको विद्युत्ले डोल्पाको सदरमुकाम दुनै लगायत विभिन्न ठाउँमा काम गदै आएकोमा पटक–पटक खराबी हुँदा स्थानीयवासी सास्ती भोग्दै आएको छ । सो समस्या समाधानका लागि मन्त्री गणेशप्रसाद सिंहको निर्देशनमा हप्ता दिनभित्र डोल्पाको सदरमुकाम दुनैलगायत आसपासका क्षेत्रमा विद्युत् सेवा सूचारु हुने भएको छ ।

जैरीगाड विद्यत् उत्पादन गर्नका लागि खराबी भएको मेसिन बोलपत्र आह्वान गरेर खरिद गरेपछि हप्ता दिनभित्र डोल्पामा विद्युत् सेवा सुचारु हुने भएकोे हो । जैरीगाडमा एउटा मात्र मेसिनद्धार विद्युत् उत्पादन हुँदै आएकोमा अब एउटा थपेर दुई वटा मेसिनबाट विद्युत् उत्पादनको काम सुरु गर्न लागिएको मन्त्री सिंहले जानकारी दिए ।