दक्षिण चीन सागरमा पर्यावरणीय विनाश गरेका छैनौं : फिलिपिन्स



फिलिपिन्सले दक्षिण चीन सागरमा पर्यावरणीय विनाश गरिरहेको भन्ने चिनियाँ आरोपको खण्डन गरेको छ ।

दक्षिण चीन सागरस्थित सेकेण्ड थोमस शोलमा फिलिपिन्सले रोकेर राखेको नौसैनिक युद्धपोतका कारण समुद्रमा पर्यावरणीय विनाश भइरहेको चीनले आरोप लगाएको थियो ।


दक्षिण चीन सागरस्थित फिलिपिनी कार्यदलले भने चीनले फिलिपिन्सविरुद्ध दुष्प्रचार गरिरहेको आरोप लगाएको छ । कार्यदलले सो युद्धपोतका कारण भएको भनिएको पर्यावरणीय क्षतिको स्वतन्त्र वैज्ञानिक अनुसन्धान हुनुपर्ने जनाएको छ ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार दक्षिण चीन सागरमा कृत्रिम टापुहरु बनाएर चीनले उल्टै समुद्री पर्यावरणको विनाश गरिरहेको फिलिपिन्सको आरोप छ ।

पछिल्लो समय दक्षिण चीन सागरमा चीन र फिलिपिन्सबीच विवाद बढ्दै गइरहेको छ । चीनले दक्षिण चीन सागरको अधिकांश क्षेत्रमा आफ्नो सार्वभौमिकता दाबी गर्दै आएको छ ।