मधेस प्रदेश : बजेटबारे आवश्यक छानबिनका लागि उच्चस्तरीय समिति गठन



जनकपुर । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि विनियोजन गरेको बजेटका सम्बन्धमा उठेका सवाल छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्ने निर्णय भएको छ । मधेश प्रदेशसभाको आजको बैठकमा सभामुख रामचन्द्र मण्डलले बजेटका सम्बन्धमा उठेका सवालबारे आवश्यक छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्ने निर्णय भएको जानकारी गराएका हुन् ।

उनले समितिको जिम्मेवारी निर्धारणका लागि मुख्यमन्त्री सतिशकुमार सिंह र जनता समाजवादी पार्टी (जसपा) नेपाल संसदीय दलका नेता सरोजकुमार यादवलाई जिम्मा दिने निर्णय भएको जानकारी दिए । यहाँ जसपा, नेपाली कांग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रदेश सरकारको बजेट सच्याउनुपर्ने मागसहित यही असार १६ गते मुख्यमन्त्री सतिशकुमार सिंहलाई ज्ञापनपत्र बुझाएका थिए । यही विषयलाई लिएर प्रदेशसभा बैठक अवरुद्ध हुँदै आएको थियो । 


बैठक सञ्चालन र बजेट पारित गर्न आज सभामुख मण्डलको अगुवाइमा सर्वदलीय बैठक बसेको थियो । बैठकले उच्चस्तरीय छानविन समिति बनाउन मुख्यमन्त्री सिंह र जसपा नेता यादवलाई जिम्मेवारी दिने निर्णय गरेको थियो ।