वार्ता बाट बाहिरिएको हमासको भनाइ



गाजा, प्यालेस्टिनी अधिनस्थ क्षेत्र । प्यालेस्टिनी लडाकू समूह इजरायली ‘नरसंहार’ र वार्तामा उसको मनोवृत्तिका कारण गाजा युद्धसम्बन्धी युद्धविरामका लागि आयोजना गरिएको वार्ताबाट पछि हटेको हमासका एक वरिष्ठ अधिकारीले आइतबार एएफपीलाई बताएका छन् ।

हमासका अर्का एक अधिकारीले हमासका सैन्य नेता मोहम्मद देइफलाई लक्षित गरी आक्रमण गरे पनि उहाँ ‘सकुशल’ रहेको र इजरायलले गाजाको दक्षिणी शिविरमा व्यापक गोलाबारी गरिरहेको बताएका छन् ।


गाजाको स्वास्थ्य मन्त्रालयले शिविरमा भएको आक्रमणमा परी ९२ जनाको मृत्यु भएको जनाएको छ ।

हमासका राजनीतिक नेता इस्माइल हनियाले अन्तर्राष्ट्रिय मध्यस्थकर्ता कतार र इजिप्टलाई अमेरिकी राष्ट्रपति जो बाइडनले मे महिनामा पहिलो पटक अघि सारेको युद्धविराम योजनामा वार्ता समाप्त भएको बताएका छन् ।

युद्धविराम योजनामा सम्झौताको पहिलो चरणमा इजरायली जेलमा रहेका प्यालेस्टिनी कैदीहरूका लागि अक्टोबर ७ मा इजरायलमाथि हमासले गरेको आक्रमणमा लिइएका अधिकांश बन्धकहरूको आदानप्रदानसहित छ हप्ताको युद्धविराम हुने थियो ।

हनियाले भने, “हमासले इजरायली गम्भीरताको कमी, ढिलासुस्ती र अवरोधको निरन्तर नीति र निहत्था नागरिकविरुद्ध जारी नरसंहारका कारण वार्ता रोक्नेछ ।”

“हमासले सम्झौतामा पुग्न र आक्रामकता अन्त्य गर्न ठूलो लचकता देखाएको छ र जब इजरायल सरकारले युद्धविराम सम्झौता र कब्जा कैदी आदानप्रदान सम्झौतामा पुग्न गम्भीरता देखाउँछ तब वार्ता पुनः सुरु गर्न तयार छ ।

हनियाले शनिबार अबेर एक वक्तव्य जारी गर्दै आफूले मध्यस्थकर्ता र अन्य देशलाई फोन गरेर आक्रमण रोक्न इजरायललाई दबाब दिन आग्रह गरेको बताएका छन् ।

इजरायलले अक्टोबर ७ मा भएको आक्रमणको ‘मास्टरमाइन्ड’ मध्येका एक मानिएको देइफ दक्षिणी गाजाको अल–मावासी शिविरमा भएको आक्रमणको निशानामा रहेको बताएको छ ।

तर हमासले भने देइफ शिविरमा रहेको पुष्टि नगरी उनी जीवित रहेको र काम गरिरहेको बताएको छ ।

’कमान्डर मोहम्मद देइफले इजेदिन अल–कासम ब्रिगेड र प्रतिरोध अभियानको प्रत्यक्ष रेखदेख गरिरहनुभएको छ,” हमासको सशस्त्र शाखालाई उद्धृत गर्दै ती अधिकारीले भने ।

गत अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमासले गरेको आक्रमणमा परी करिब एक हजार २०० जनाको मृत्यु भएको इजरायलद्वारा पुष्टि गरेको तथ्याङ्कमा उल्लेख छ ।

हमास लडाकूले २५१ बन्धकलाई कब्जामा लिएकामा करिब १०० जना रिहा भइसकेको, ११६ जना गाजामा रहेको र ४२ जनाको मृत्यु भइसकेको इजरायली सेनाले जनाएको छ ।

हमास आक्रमणको बदलामा इजरायलले जवाफी कारबाही सुरू गरेको र गाजामा कम्तीमा ३८ हजार ४४३ जनाको मृत्यु भएको हमासको नियन्त्रणमा रहेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।