चितवनका एघार हजार बढी बालबालिकालाई पूर्ण खोप



चितवन । जिल्लाका ११ हजार पाँच सय ५४ बालबालिकाले पूर्ण खोप लगाएका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार उनीहरुले जन्म भएपछि १५ महिनासम्मको उमेरमा लगाउनुपर्ने सबै खोप लगाएका हुन् ।

कार्यालयले गत चैतमा छुटपुट बालबालिकाको तथ्याङ्क सङ्कलन गरी वैशाख र जेठमा उनीहरुलाई खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत जयराम दुवाडीले जानकारी दिए । उनका अनुसार पूर्ण खोप नलगाएका २७ बालबालिकालाई अभियानका क्रममा खोप लगाइएको थियो । योसँगै १५ महिनाभित्र लगाउनुपर्ने खोप लगाएका बालबालिका बाँकी नरहेकाले जिल्लाका सातै पालिकालाई पूर्ण खोप घोषणा गर्ने जिल्ला खोप समन्वय समितिले निर्णय गरेको छ ।


जिल्ला समन्वय समिति प्रमुख नारायणप्रसाद अधिकारीको अध्यक्षतामा बसेको बैठकले १५ महिनाभित्रका सबै बालबालिकालाई १३ प्रकारका खोप लगाइएकाले असार मसान्तभित्र सबै पालिकालाई पूर्ण खोप घोषणा गर्ने निर्णय गरेको हो । बैठकले साउन पहिलो साता जिल्लालाई पूर्ण खोप घोषणा गर्ने निर्णय गरेको छ । बालबालिकालाई दिने खोप अभियान जारी रहने उनले बताए । उनले भने, “हरेक वर्ष जिल्ला भित्रका १५ महिनासम्मका बालबालिकाको खोपको पूर्णता पाएसँगै खोपयुक्त जिल्ला घोषणा गरिँदै आइएको छ ।”

यस वर्ष जिल्लामा रहेका विभिन्न स्वास्थ्य संस्थामा १२ हजार पाँच सय ३१ नवजात शिशु जन्मिएका थिए । ती शिशुमध्ये जिल्ला बाहिरबाट आएर जन्मिएका शिशुहरु आफ्नै जिल्लामा गएर खोप लगाउने हुँदा पूर्ण खोप लगाउने शिशुको सङ्ख्या कम हुने गरेको उहाँले जानकारी दिए ।