महासंघले भन्यो- विभागको निर्देशन हालको समस्याको समाधानको बाटो होइन



काठमाडौँ । कुनै व्यक्ति एकै समयमा एक मात्र सहकारी संघ/संस्थाको सञ्चालक हुन सक्ने भन्ने निर्देशन जारी गरी अभियानमा कठिनाइ उत्पन्न भएकोप्रति राष्ट्रिय सहकारी महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सहकारी विभागले १९ जेठमा एक सूचना जारी गर्दै एउटै व्यक्ति दुई वा दुईभन्दा बढी सहकारी संघ/संस्थाको सञ्चालक भएमा त्यस्तो व्यक्तिले ३० दिनभित्र दोहोरो पद त्यागेर एकल पदमा मात्रै बस्न निर्देशन दिएको थियो । उक्त निर्देशन कार्यान्वयन गर्न नसकिने भन्दै महासंघले आपत्ति जनाएको हो ।


सो निर्देशनअनुसार सम्बन्धित व्यक्तिहरूले ३० दिनभित्र एउटै संघ/संस्थाको मात्र सञ्चालक पद कायम राखी अन्यको हकमा त्याग गर्नुपर्ने, अन्यथा कानुन बमोजिम कारबाहीको प्रक्रिया अगाडि बढाउने भन्ने निर्देशित गरिएको छ । ‘हालको विषम परिस्थितिमा यो निर्देशनले प्रारम्भिक संस्था तथा संघहरूमा बीचमै नेतृत्व छोड्दा अन्यौलता सिर्जना भई समस्या आउन सक्ने भएकाले सम्पूर्णमा विचलन नभई पुर्ववत अवस्थामा काम गर्न समेत राष्ट्रिय सहकारी महासंघ हार्दिक आव्हान गर्दछ,’ महासंघले मंगलबार विज्ञप्ति जारी गर्दै भनेको छ ।

सहकारी ऐन २०७४ दफा २ को खण्ड (फ) मा ‘सहकारी संस्था भन्नाले संस्था वा संघलाई सम्झनुपर्छ र सो शब्दले सहकारी बैंकलाई समेत जनाउँछ’ भन्ने व्यवस्थाले दुविधा उत्पन्न भएको महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यस्तोमा उक्त प्रावधान हटाउनु पर्ने भनी अभियानको तर्फबाट सहकारी ऐनको संशोधनको बुँदामा समेत परेको समयमा विभागको निर्देशन हालको समस्याको समाधानको बाटो नभएको महासंघको दाबी छ ।

विभागको उक्त निर्देशनले सहकारी अभियानलाई नै समस्या हुने भन्दै राष्ट्रिय सहकारी महासंघले प्रारम्भिक संस्थामा मात्रै उक्त व्यवस्था गरी संघमा सञ्चालक हुने पाउने व्यवस्था गर्नुपर्ने माग गरेको छ ।

प्रारम्भिक सहकारी संस्थाको हकमा भने ऐनको दफा ४१ (५) मा भएको व्यवस्था अनुसार कुनै व्यक्ति एकै समयमा एक मात्र प्रारम्भिक सहकारी संस्थाको सञ्चालक हुन सक्नेछ भन्ने प्रावधानलाई भने तत्काल कार्यान्वयन नगर्न महासंघले अपिल गरेको छ ।