धरान-धनकुटा सडक अवरुद्ध, बाढीका कारण बस्ती जोखिममा



सुनसरी । निरन्तरको वर्षाका कारण आएको बाढीपहिरोका कारण धरान–धनकुटा सडक अवरुद्ध भएको छ । धनकुटाको सागुरीगढी–६ स्थित फेदीमा पहिरो खसेपछि बिहानदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक राजबाबु महर्जनले जानकारी दिए । 

सो सडकखण्डमा पर्ने फेदी, घण्टे र नमस्ते झर्ना क्षेत्रमा पहिरो झरेकोले सवारी आवतजावतमा समस्या भएको उनले बताए । गर्जुवा खोलाबाट आएको बाढीका कारण ढुङ्गा र माटोसहितको लेदोले सडक ढाकेको उनले बताए । 


यसैबीच निरन्तर वर्षासँगै  आएको बाढीका कारण धरान उपमहानगरपालिका– १६ मा  १० वटाभन्दा बढी घर जोखिममा परेका छन् ।

 स्थलगत अनुगमनमा पुगेका धरान उपमहानगरपालिका– १६ का वडाध्यक्ष मुरारी भट्टराईले जोखिममा परेका दुई घरका परिवारलाई भने आफन्त र छिमेकीको पठाइएको बताए । 

उनले भने, “बाँकी परिवारलाई पनि अन्यत्र सार्ने काम जारी छ   निरन्तर पानी परेकाले समस्या भएको छ ।” निरन्तरको वर्षाले पुलमा सामानय क्षति भएको छ ।