काठमाडौँ । नेपालमा मनसुन सुरु भएयता साेमबार दिउँसोसम्म देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो, डुबानलगायत विपद्मा परी ७४ जनाको मृत्यु भएको छ भने ८८ जना घाइते भएका छन् ।
विपद्जन्य घटनामा परी काठमाडौं उपत्यकामा एक, कोशी प्रदेशमा १८, मधेश प्रदेशमा तीन, बागमती प्रदेशमा चार, गण्डकी प्रदेशमा २२, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा चार र सुदूरपश्चिम प्रदेशमा चार गरी ७४ जनाको मृत्यु भएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।
उनका अनुसार घाइते हुनेमध्ये काठमाडौं उपत्यकामा तीन, कोशी प्रदेशमा २१, मधेशमा पाँच, बागमतीमा चार, गण्डकीमा २६, लुम्बिनीमा चार, कर्णालीमा १५ र सुदूरपश्चिममा १० जना गरी जम्मा ८८ जना रहेका छन् । साथै कोशी प्रदेशमा ४१ र गण्डकीमा १२ गरी ५३ जनाको उद्धार गरिएको छ ।
बाढी पहिराेमा परी कोशी प्रदेशमा दुई, बागमतीमा दुई र सुदूरपश्चिममा एक गरी पाँचजना बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । बाढीका कारण एक सय ६१ घर डुबानमा परेका र ९४ घर, ५३ गोठ, ४१ पुल, एक विद्यालय र दुई सरकारी कार्यालयमा क्षति पुगेको छभने तीन सय ३५ पशुचौपाया मरेका प्रवक्ता कार्कीले बताए ।
यस अवधिमा विपद्का घटनाबाट दुई हजार दुई सय ९६ परिवार विस्थापित भएका छन् । बाढी पहिराको जोखिममा रहेका विभिन्न जिल्लाका परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने कामसमेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय तथा सहयोगमा भइरहेका र सडकको अवरोध हटाउने कार्यसमेत जारी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।