विपद् जोखिम न्यूनीकरणका लागि प्रविधिको प्रयोग जरूरी छः मुख्यमन्त्री कार्की



काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विपद् जोखिम न्यूनीकरणका लागि प्रविधिको प्रयोग जरूरी रहेको बताएका छन् । त्यसका लागि सम्भावित जोखियुक्त स्थानमा जनताको जीउधन सुरक्षाका लागि तत्काल सूचना सम्प्रेषण गर्न निःशुल्क वाइफाई जडान गर्न उनले निर्देशन दिएका छन् ।

प्रदेश आन्तरिक मामिला मन्त्रालयद्वारा ‘कोशी प्रदेश विपद् व्यवस्थापन पोर्टल’ bipad.koshi.gov.np को आज शुभारम्भ गर्दै उनले विपद् जोखिममा रहेका र जङ्गली जनावरबाट हुने क्षति रोक्न ती स्थानबाट सहज सूचना दिने उद्देश्यले निःशुल्क वाइफाई जडान गर्नुपर्ने बताएका हुन् ।


मुख्यमन्त्री कार्कीले विपद्का समयमा नागरिकले प्राप्त गर्ने र स्थलगतरूपमा दिइने सूचनाले समयमै सुरक्षा गतिविधि अगाडि बढाउन सूचना प्रविधिको सञ्चालन महत्वपूर्ण हुने बताए । उनले यसबारेमा नागरिकलाई सुुसूचित गराउनुपर्नेमा समेत जोड दिए । “अहिले सूचना नै सुरक्षाका लागि सबैभन्दा सहज माध्यम बन्नसक्छ । तत्काल सूचना पाएमा तत्कालै सतर्कता अपनाउन, राहत तथा उद्दारका काम गर्न सहज हुन्छ । विगतमा कोभिड, बाढीपहिराजस्ता विपद्का समयमा पनि द्रुतरूपमा उद्धारलगायतका काम गरेका उदाहरण पनि छन् । त्यसैले यसको प्रयोगमा जोड दिनुपर्छ”, मुख्यमन्त्री कार्कीले भने ।