बाढीका कारण कञ्चनपुरमा एक हजार छ सय २२ जना प्रभावित



दोधारा चाँदनी । लगातारको वर्षापछि आएको बाढीले कञ्चनपुरको केही जमिन डुबानमा परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बाढीले अधिकांश भू-भागलाई प्रभावित बनाएको छ ।

महाकाली र जोगबुडा नदीमा आएको बाढी बस्तीमा पसेपछि दोधारा चाँदनी नगरपालिका- १० को तीन बस्ती डुबानमा परेका छन् । जोगबुडा पारीको कुतियाकभर तथा वारीका शान्ति टोल र लिसानी टोल डुबानमा परेका छन् ।


त्यसैगरी कञ्चनपुरको भीमदत्त नगरपालिका, बेदकोट, शुक्लाफाँटा, कृष्णपुर नगरपालिका र दक्षिणी क्षेत्रका अधिकांश बस्तीमा बाढी पसेकोे छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेश जोशीले जिल्लाभर बाढीबाट प्रभावित एक हजार छ सय २२ जना को उद्धार गरी सुरक्षित स्थानमा सारिएको जानकारी दिए । ‘बाढीले जिल्लाका अधिकांश बस्ती डुबानमा परेका छन्’ उनले भने, ‘डुबानबाट प्रभावितलाई नजिकै विद्यालय र आफन्तकोमा सारिएको छ ।’

त्यसैगरी, उनले बाढीमा परी कृष्णपुर नगरपालिकाको वडा- १ पोतीपुरमा सात महिनाका शिशु सोलु धानुकको मृत्यु भएको बताए । प्रवक्ता जोशीले भने ,’घरमा सुतेको अवस्थामा बाढी पसेपछि डुबेर शिशुको मृत्यु भएको छ ।’

निरन्तर वर्षा भइरहेका कारण अझै केही परिवार विस्थापित हुने अवस्थामा पुगेका जनाइएको छ ।