नेकपा एस : केन्द्रीय सदस्य चयनका लागि सिफारिस गर्ने जिम्मा प्रदेश इन्चार्ज र सचिवलाई



काठमाडाैं। नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय कमिटी सदस्य चयनका लागि सिफारिस गर्ने जिम्मेवारी प्रदेशका इन्चार्ज र सचिवहरुलाई दिएको छ।

पार्टी कार्यालयमा आइतबार बसेको केन्द्रीय कमिटीको बैठकले भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर क्षमताका आधारमा केन्द्रीय कमिटी सदस्य चयनका लागि प्रदेशका इन्चार्ज र सचिवहरूलाई जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो।


सिफारिस गरिएका सदस्यहरुको अन्तिम टुंगाे केन्द्रीय कमिटी लगाउने नेता जगन्नाथ खतिवडाले जानकारी दिए। उनले अवको १० दिनभित्र केन्द्रीय कमिटीले पूर्णता पाउने र त्यसपछि पदाधिकारी चयन हुने बताए।

खतिवडाले सर्वसम्मत नेतृत्व चयनको सन्देश जनताले पाइसकेको अवस्थामा पार्टीप्रति थप विश्वास खडा भएको जिकिर गरे। उनले आगामी निर्वाचनमा स्थानीय तहका साथै अन्य निर्वाचनमा पार्टीले उल्लेखीय सिट हासिल गर्ने भन्दै अहिले पार्टीप्रतिको आलोचनालाई सुझावका रुपमा ग्रहण गर्ने बताए।

त्यस्तै खतिवडाले प्रधानमन्त्रीले विश्वासको मत लिँदा आफ्नो पार्टीले पक्षमा मतदान गर्ने जानकारी पनि दिए। शुक्रबार सम्पन्न नेकपा एसको महाधिवेशनले अध्यक्ष, सम्मानित नेता, महासचिव सहित ९३ केन्द्रीय सदस्य सर्वसम्मत चयन गरेको थियो ।

पार्टीमा दुई सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको व्यवस्था गरिएको छ।