बाढीपहिरोले सडक अवरुद्ध गरेझैं सरकारले बाटो छेक्यो, छिटोभन्दा छिटो पन्छाऔंः रामहरि खतिवडा



काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य रामहरि खतिवडाले वर्तमान सरकारले बाटो छेकेको आरोप लगाएका छन् ।

आज (आइतबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले बाढीपहिरोले सडक अवरुद्ध गरेझै सरकारले सदन अवरुद्ध गरिरहेको टिप्पणी गरेका हुन् । सरकारलाई छिटोभन्दा छिटो पन्छाउन आवश्यक रहेको उनले बताए ।


‘बाढीपहिरोले सडक अवरुद्ध त गरेकै छ । सरकारले सदन पनि पहिरोजस्तै बनेर अवरुद्ध गरिदियो । यसलाई छिटोभन्दा छिटो पन्छिाउने काम गर्नुपर्यो । बाटो छेकेजस्तो भएको छ,’– उनले भने ।

ओखलढुङ्गाको पहिरे खोलामा पुल निर्माणका लागि प्रदेशलाई टेन्डर गर्ने अधिकार दिइएको र उक्त टेन्डर आह्वान भएर पनि रद्द भएको उनले सुनाए । पहिरे खोलामा पुल नभएर मानिसहरु आवतजावतको समस्या रहेको उनले बताए ।

‘पुल नहुँदा आवतजावतमा समस्या परेको छ । हाम्रो फोटो राखेर ‘रीप’ समेत लेख्ने काम भएको छ । यथाशीघ्र टेन्डर गरेर पहिरे खोलामा पुल निर्माण गरियोस्,’– उनले भने ।