तनहुँको बन्दीपुर गाउँपालिका-४ विमलनगरस्थित मर्स्याङ्दी नदीले जलसतह पार गरेको छ । शुक्रबारदेखि परेको अविरल वर्षाका कारण आज बिहानदेखि नदीले सतर्कता तह पार गरेको हो ।
सतर्कता तह पार गरेकाले मर्स्याङ्दी नदीमा बाढी आउनसक्ने सम्भावना रहेको भन्दै तटीय क्षेत्रका बासिन्दालाई सर्तक रहन र सावधानी अपनाउन आग्रह गरिएको प्रजिअ गौतमले बताए ।
जल तथा मौसम विज्ञान विभागले नदी तटीय क्षेत्रमा आइतबारसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
विभागका अनुसार मर्स्याङ्दी नदीको सतह १०.२५ मिटरभन्दा माथि आएको छ । जिल्लाको भानु नगरपालिका, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका हुँदै यो नदी मुग्लिनमा पुगेर त्रिशूलीमा मिसिन्छ ।