![](https://exclusivenewstime.com/wp-content/uploads/2021/06/bhetghat-ad.gif)
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/07/MAYA-GIF.gif)
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले अवैध सुन तस्करीका लागि खडा गरिएका विभिन्न ७ कम्पनीमध्ये ५ वटाबाट ३ हजार १ सय ९४ केजी ६६८ ग्राम सुन चोरी पैठारी भएको पाइएको बताएको छ ।
गत २०८० साल साउन २ गते त्रिभुवन विमानस्थलको भन्सारबाट बाहिरिएको ६० किलो ७१६ ग्राम अवैध सुन राजश्व अनुसन्धान विभागले नियन्त्रणमा लिएर सुरु भएको अनुसन्धान पश्चात अहिलेसम्मको अनुसन्धानमा उक्त परिणामको अवैध सुन चोरी पैठारी भएको खुलेको हो ।
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/RATO-MATO.gif)
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/manakamana.jpg)
सीआईबीले आज (सोमबार) पत्रकार सम्मेलन गरी नेपाल विद्युतीय प्राविधिक समाज र त्रिभुवन विश्वविद्यालय, भौतिक शास्त्र केन्द्रीय विभाग, काठमाडौंसमेतका विज्ञ टोलीको प्रतिवेदनअनुसार अवैध सुन चोरी पैठारीमा संलग्न व्यक्तिहरुले स्थापना गरेका विभिन्न ७ डमी कम्पनीहरु मध्ये ३ हजार १ सय ९४ केजी ६६८ ग्राम सुन चोरी पैठारी भएको पाइएको बताएको हो ।
सीआईबीले ब्रेक सूमा सुन लुकाएर ल्याएको अभियोगमा पक्राउ परेका २५ जनामध्ये २४ जना अभियुक्तहरु पुर्पक्षका लागि थुनामा रहेको जानकारी गराएको छ । उक्त परिमाणको सुन इलेक्ट्रोनिक मालवस्तु पानी तान्ने पम्प, स्मार्ट वाच, सेभिङ मेसिन, ब्रेक सूमा ल्याइएको सीआईबीको निश्कर्ष छ ।
सीआईबीका अनुसार अवैध चोरी पैठारी गर्नका लागि चिनियाँ नागरिक दाओजिन वाङसमेतको योजनामा स्थापना भएको थियो । अवैध सुन पैठारीका लागि स्थापना भएका कम्पनीहरुमा भुजेल इलेक्ट्रिक सप्लायर्स प्रा.लि, ह्वाडा इलेक्ट्रिक सप्लायर्स प्रा.लि, छुन्गाक इलेक्ट्रिक सप्लायर्स, दोलखा इलेक्ट्रिक सप्लायर्स र रेडी ट्रेड प्रा.लि. रहेका छन् ।
सीआईबीले उक्त सुनको कूल मूल्य ३० अर्ब ८२ करोड २२ लाख ९१ हजार २ सय ७२ रुपैयाँ निकालेको छ । अवैध रुपमा चोरी पैठारी भएको सुनको रकम भुक्तानीमा पेवेल नेपाल प्रा.लि र सजिलो पे पेमेन्ट सर्भिसेज प्रा.लि. बाट भएको पाइएको छ ।
सीआईबीले पहिलो चरणको अनुसन्धान सकेर गत भदौ ५ गते अदालतमा मुद्दा दायर गरेको थियो । त्यो बेला ‘ब्रेक सू’ का भित्रिएको अवैध सुनको मात्रै अनुसन्धान पुरा भएको र पाँच वटा कम्पनीबाट अवैध रुपमा भित्रिएको सुनहरुको सम्बन्धमा थप अनुसन्धान गरिएको उनले बताए । सीआईबीका अनुसार दोस्रो पटकको अनुसन्धानको क्रममा २० जना मानिसहरु पक्राउ परेका छन् । सीआईबीले अनुसन्धानका क्रममा फेला परेका दसी प्रमाणहरु समेत सार्वजनिक गरेको छ ।
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/EVEREST.gif)