काठमाडौं । नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतले टेरामक्स प्रकरणबारे उचित समयमा जवाफ दिने बताएका छन् ।
शुक्रबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले टेरामक्सलाई लिएर संसद्मा आफूविरुद्ध कुराहरु आइरहेको भन्दै आफुले उचित समयमा जवाफ दिने बताएका हुन् ।
बस्नेतले टेरामक्स वार्षिक अर्बौं राजश्व बचाउने एकमात्र मन्त्र रहेको बताउदै टेरामक्स प्रणाली लागू नभएसम्म कल बाइपास गरेर कालोबजारी भइरहने बताए ।
उनले भने, ‘मलाई पनि यो टेरामक्सको कुरा लिएर बेला–बेलामा, यसका बारेमा तीन जना सांसदहरुको नाम मुछिएको छ । एकदम कलिला–कलिला ओठ निर्चोदा दुध आउने माननियदेखि लिएर दाह्रीजुँगा फुलेकासम्म सबैले यो कुरा उठाइरहनुभएको छ । उचित दिन आएछ भने म यसको जवाफ दिनेछु ।’
उनले संसारभरी टेलिफोनमा कल बाइपास टेरामक्स विधिले नै नियन्त्रण भइरहेको दाबी गर्दै टेरामक्स प्रकरणमा ठगीको धन्दा नभएको बताए ।
नेता बस्नेतले नेपालमा कल बाइपास गरेर वर्षको २५ अर्बभन्दा बढी राजश्व घोटला भइरहेको बताए। उनले भने, ‘मैले आँट गरेर यो विधि सुरुवात गर्न खोजेको हुँ । २५ अर्ब वार्षिक घटला गर्नेले कति अर्ब खर्च गरेर सम्बन्धित निकायहरुलाई ड्राइभर्ट गर्न खोजेको हो ? भविष्यले बताउँला।’