प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधि सुनिल र मनिषको जोडीलाई



किमाथाङ्का । संखुवासभाको खाँदबारीमा शनिबार कोशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता मेन्स डबलतर्फको उपाधि सङ्खुवासभाका सुनिल कार्की र मोरङका मनिष खड्काको जोडीले हात पारेको छ ।

खाँदबारी नगरपालिका–१ घिमिरे गाउँस्थित सोमनाथ घिमिरे मेमोरियल इण्डो स्टेडियममा आज भएको फाइनलमा उक्त जोडीले भोजपुरका निश्चल खत्री र सङ्खुवासभाका प्रविन लिङ्थेपलाई सोझो सेटमा पराजित गरेको हो ।


प्रतियोगितामा प्रथम भएको सुनिल र मनिषको जोडीले नगद  ६०  हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता भोजपुरका निश्चल र सङ्खुवासभाका प्रविनले  ३५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

साथै तेस्रो भएका सङ्खुवासभाका प्रमिस श्रेष्ठ र झापाका प्रमिससिंह ठकुरी तथा भोजपुरका विवेक श्रेष्ठ र विशाल तामाङको दुई जोडीले  १०/१० हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

भेट्रान्सतर्फ विराटनगरका जीवनकुमार बोगटी र सुनसरीका श्रवन चौधरीको जोडी प्रथम भएको छ । पाँचथरका रामराज आङ्दामे र काठमाडौँका सञ्जय कपालीको जोडी दास्रो भएको छ । साथै नेपालगञ्जका हरि खत्री र अनिल लाखे तथा काठमाडौँका इन्द्र महत र सुनसरीका देव तामाङको दुवै टोली तेस्रो भयो ।

भेट्रान्सतर्फ प्रथम हुनेलाई रु ५०  हजार, मेडल र प्रमाणपत्र, दोस्रो हुनेलाई रु ३० हजार, मेडल र प्रमाणपत्र तथा तेस्रो हुनेलाई रु सात हजार पाँच सय, मेडल र प्रमाणपत्र प्रदान गरिएको जिल्ला ब्याडमिन्टन सङ्घ सङ्खुवासभाका अध्यक्ष राजु श्रेष्ठले जानकारी दिनुभयो ।

जिल्लास्तरीय मेन्स डबलतर्फ तुम्लिङटारका अनमोल बुर्जा र सफल श्रेष्ठ प्रथम भएका छन् । खाँदबारीका लेखनाथ श्रेष्ठ र नरेन्द्र तामाङ दोस्रो भएका छन् । मानेञ्याङका साहिद श्रेष्ठ र सन्दीपभगत श्रेष्ठ र खाँदबारीका सुमन गौतम सविन तामाङको दुई जोडी तेस्रो भएका छन् ।

प्रतियोतिामा भारतको कोलकोत्ता, ग्यानटोक, सिक्किम, दार्जिलिङसहित नेपालका ९२ टिमको सहभागिता थियो । सङ्खुवासभामा पहिलोपटक प्रदेशस्तरीय पुरुष ब्याडमिन्टन प्रतियोगिता भएको हो ।