योग स्वास्थ्य र कल्याणको मार्ग हो : मुख्यमन्त्री महरा



मर्चवार । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले योग स्वास्थ्य र कल्याणको मार्ग रहेको बताएका छन् । भारतीय राजदूतावास, लुम्बिनी विकास कोषसहितको आयोजनामा आज लुम्बिनीमा आयोजित अन्तर्राष्ट्रिय योग दिवसलाई सम्बोधन गर्दै मुख्यमन्त्री महराले योग शारीरिक अभ्यास मात्र नभएर मानसिक शान्ति, आत्म–अन्वेषण र समग्र स्वास्थ्यको महत्वपूर्ण प्रणालीका रुपमा विकास भएको बताएका हुन् ।

“योगले हामीलाई आत्म–ज्ञान हासिल गर्न, मानसिक सन्तुलन कायम गर्न तथा एकता र करुणाको भावना जागृत गर्न सहयोग पुर्याउँछ”, उनले भने । योगले प्रतिरोधात्मक क्षमता र मानसिक दृढता बढाउने उनको भनाइ छ । मुख्यमन्त्री महराले लुम्बिनी प्रदेश सरकार नागरिकको स्वास्थ्य र कल्याण प्रवर्द्धनका लागि प्रतिबद्ध रहेको बताए । 


उनले योगका फाइदालाई स्वीकार्दै सार्वजनिक स्वास्थ्यसम्बन्धी पहलमा समावेश गर्न र प्रत्येक व्यक्तिले योगलाई दैनिक जीवनमा समावेश गर्न प्रेरित गर्न आग्रह गरे । “यस प्राचीन अभ्यासको रूपान्तरणकारी शक्ति अनुभव गर्न म सबैलाई आह्वान गर्दछु”, उनले भनिन् । गौतम बुद्धको जन्मस्थलमा अन्तर्राष्ट्रिय योग दिवसलाई सम्बोधन गर्न पाउँदा खुसी र आनन्द भएको उनले बताए ।

नेपाल र भारतबीचको सांस्कृतिक सम्बन्धलाई प्रगाढ बनाएको बताउँदै लुम्बिनी प्रदेश सरकारका तर्फबाट मुख्यमन्त्री महराले भारतीय दूतावासलाई धन्यवाद दिए । नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले भगवान् बुद्धको जन्मस्थस्थलमा अन्तर्राष्ट्रिय योग दिवस मनाउँदा यसले पर्यटन प्रवर्द्धन हुने बताए ।

उनले गत वर्षदेखि लुम्बिनीमा योग दिवस मनाउन शुरु गरिएको र अब प्रत्येक वर्ष जुन २० तारिखका दिन अन्तर्राष्ट्रिय योग दिवस मनाउने जानकारी दिए । लुम्बिनीको प्रचारप्रसारका लागि भारतीय दूतावासले विभिन्न कार्यक्रम गर्दै आएको श्रीवास्तवले बताए । 

कार्यक्रममा लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बुद्धको दुःखबाट मुक्त गर्ने मार्ग जस्तै योग अभ्यासले फाइदा गर्ने धारणा राखे । उनले लुम्बिनी विकास कोषले भारतीय दूतावाससँग सहकार्य गरेर कार्यक्रम गरेको बताउँदै लुम्बिनीको विश्वव्यापी प्रवर्द्धनका लागि आगामी दिनमा सहकार्य गर्न इच्छुक रहेको बताए ।

सदस्य सचिव शाक्यले सुनौली नाकामा व्यवस्थित एकीकृत अध्यागमन कार्यालय बनाउन मुख्यमन्त्री र राजदूतको ध्यानाकर्षण गराए । उनले नाकामा पर्यटकले दुःख पाइरहेको बारे गुनासो गरे ।

राजदूत श्रीवास्तवले मायादेवी मन्दिरको दर्शन गरेका थिए । उनलाई लुम्बिनी विकास कोषका सूचना तथा जनसम्पर्क प्रमुख डा हरिध्वज राईले लुम्बिनीका बारेमा बिफ्रिङ गरे ।

कार्यक्रममा पूर्वमन्त्री हृदयेश त्रिपाठी, देवेन्द्रराज कँडेल, लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगरप्रमुख सजरुद्दीन खाँ, पतञ्जली योगमा आबद्ध रुपन्देही, कपिलबस्तु र नवलपरासीका योग गुरु, योग अभ्यासकर्ता, उद्योगी व्यवसाय र स्थानीयहरुको उपस्थिति रहेको थियो । 

प्रत्येक वर्ष जुन २१ का दिन अन्तर्राष्ट्रिय योग दिवस मनाउने गरिएको छ । भारतीय राजदूतावास, लुम्बिनी विकास कोष, बिपी कोइराला भारत नेपाल फाउण्डेशन, पतञ्जली योगपिठ नेपालले संयुक्त रुपमा आज दिवस मनाएको हो  ।