‘गोल्डेनगेट एसइई कप’ चेस प्रतियोगिता यसै सातादेखि



काठमाडौँ । हिमालयन चेस एकेडेमीको आयोजनामा ‘गोल्डेनगेट एसइई कप चेस २०२४’ यसै सातादेखि हुने भएको छ । प्रतियोगितामा एसइई दिएका करिब एक सय विद्यार्थीले प्रतिस्पर्धा गर्ने जनाइएको छ ।

यही असार ८ देखि ११ गतेसम्म हुने उक्त प्रतियोगिता गोल्डेनगेट इन्टरनेसनल कलेजको भवनमा आयोजना हुने बिहीबार आयोजित पत्रकार सम्मेलनमा हिमालयन चेस एकेडेका अध्यक्ष मोनालिसा खम्बूले जानकारी दिइन्  । उनका अनुसार प्रतियोगिता खुला र छात्रा गरी दुई विधामा सञ्चालन गरिनेछ ।


गत फागुनदेखि सञ्चालनमा आएको उक्त हिमालयन चेस एकेडेमीले अहिले पाँच वर्षदेखि १३ वर्षसम्मका ५० जनाभन्दा बढी बालबालिकालाई चेसको प्रशिक्षण दिइरहेको छ ।

एकेडेमीका अध्यक्ष खम्बूले भनिन्, ‘एकेडेमीले आयोजना गरेको यो पहिलो प्रतियोगिता हो, प्रतियोगिताको प्रथम हुनेले  १० हजार, दोस्रो हुनेले  पाँच हजार र तेस्रो हुनेले  तीन हजार पाउनेछन् ।’