सेती नदी संरक्षणका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण



कास्की । पोखरा बजारको मध्य भाग भएर बग्ने सेती नदीको संरक्षणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गराइएको छ । सेती नदी संरक्षण अभियानका पदाधिकारीहरूले आज प्रधानमन्त्री दाहालसँग भेट गरी मानवीय दोहनले कुरुप बनेको नदीको दीर्घकालीन संरक्षणका लागि माग गरेको हो ।

अभियानका अध्यक्ष हेम पौड्यालले सेती नदीको वर्तमान दूरावस्थाबारे जानकारी गराउँदै सेती नदीको सीमाङ्कन, नदी संरक्षण तथा व्यवस्थापनका लागि गुरुयोजनाको निर्माण, नदीमा आठदेखि १० स्थानमा चेक ड्याम निर्माण गर्न माग गरिएको जानकारी दिए । 


नदी गहिरिँदै गएको र नदीको बहावको तीव्रता बढेको कारण बर्सातमा आसपासका निजी र सार्वजनिक जमिनको क्षयीकरण हुँदा करोडौँको लागतमा बनेका पुल, अन्तिम संस्कार गरिने घाटसमेत क्षतिग्रस्त भएको अभियन्ता पौडेलले बताए । 

यसैगरी कोत्रेदेखि नदीको मुहानसम्म दुवै किनारामा हरित पैदल तथा साइकलमार्ग बनाउन र नदीको दुवै किनारामा वृक्षरोपण तथा चौतारा निर्माण, नदीमा बिसर्जन भइरहेको फोहर अविलम्ब रोक लगाउनुपर्ने माग समितिको छ । सो अवसरमा प्रधानमन्त्री दाहालले पर्यटकीय राजधानी पोखरा भएर बग्ने सेती नदीका बारेमा चासो राख्दै संरक्षणका लागि पहल गर्ने विश्वास दिलाएका थिए । 

प्रधानमन्त्रीले नदी संरक्षणको अभियानमा जुटेका समुदायलाई धन्यवाद दिँदै सरकारले यो विषयमा सकारात्मक पहल गर्ने प्रतिबद्धता जनाएको समितिका सदस्य भुवनेश्वर पोखरेलले बताए ।