विपदमा परेकाको समयमै उद्धार गर्न सांसद भट्टराईको माग



काठमाडौँ । नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले विपद्का घटनामा परेका नागरिकको समयमै उद्धार गर्न सरकारसँग माग गरेका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकको आकस्मिक समयमा उनले पर्याप्त साधन स्रोतको अभावले विपद्का घटनामा परेका नागरिकको समयमै उद्धार गर्ने नसकिएको अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराए ।


सांसद भट्टराईले विगत केही दिनदेखि परेको अविरल वर्षाले ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–२ खेजिनिममा पहिरोमा पुरिएर एकैपरिवारका चार जनाको मृत्यु भएको र दुई जना घाइते भएको घटनाप्रति दुःख व्यक्त गरे । पहिरो परी सो गाउँपालिकाका उपाध्यक्ष विकास लिम्बूको परिवारका चार जनाको निधन भएको थियो ।

पहिरोबाट पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन सांसद भट्टराईले सरकारको ध्यानाकर्षण गराए । “हामीले विपद् प्राधिकरण बनाएका छौँ । पर्याप्त साधन स्रोतको अभावले समयमै उद्धार गर्ने सकिएको छैन् । अब प्राकृतिक विपत्तिको उच्च जोखिममा रहेका पहाडी र हिमाली क्षेत्रमा एकीकृत बस्ती विकासमा जानुपर्छ”, उनले भने ।

यसैगरी सांसद लीला बोखिमले पनि ताप्लेजुङको फक्ताङलुङ–२ मा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरिन् ।

घट्नामा ठूलो जनधनको क्षतिका साथै पहिरोले सडक अवरुद्ध भएकाले आपतकालीन अवस्थामा उद्धारका लागि हेलिकप्टरको व्यवस्था गर्न सरकारसँग माग गरिन् । “काठको पुल भत्किएको छ । पशुचौपाया मरेका छन् । बाटो अवरुद्ध छ । तत्काल उद्धार र राहतको व्यवस्था गर्न माग गर्दछु”, उनले भनिन् ।