गिरिबन्धु टी-स्टेटको जग्गा बेचेकाहरु अहिले खान नपाएको रिसले कराएका हुन्ः अध्यक्ष ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गिरिबन्धु टी-स्टेटका बारेमा गलत प्रचार गरेर कांग्रेसले स्यालहुइँया  मच्चाइरहेको आरोप लगाएका छन् ।

बिहीबार भक्तपुरमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले बलजफ्ती बिक्री गरेर गिरीबन्धु टी स्टेटको जग्गा बेचेकाहरु अहिले खान नपाएको रिसले कराइरहेको आरोप लगाएका हुन् ।


उनले नेकपा एमालेलाई देशका लागि काम गर्न नदिनका लागि कांग्रेसले एमालेमाथि आक्रमण गरिरहेको बताए । उनले भने, ‘गिरिबन्धु टी-स्टेटलाई बेथिति गर्न पाइँदैन भनेर हामीले कानून बनायौँ । कानुन बनेपछि बेचेर खान नपाइने भयो भनेर ‘स्यालहुइँया’ मच्चाएका छन् । हाम्रो पार्टीसँग वैचारिक संघर्ष गर्न सक्दैनन् । अनि एमालेलाई बद्नाम गर्न लागेका छन् ।’

उनले एमालेलाई काम गर्न नदिन अनर्गल प्रचारमा भइरहेको बताए । उने विगतमा पशुपतिमा एक सय ८ केजी सुन भनेर पित्तल चढाए, कम्बोडियामा ३ हजार करोड टेलिकममा लगानी छ भन्नेहरु कता गए भन्दै प्रश्न समेत गरेका छन् ।

उनले भने, ‘एउटा स्याल कराइसक्यो, अर्को स्याल निस्किएर कराउँछ । एउटा करायो, पशुपतिमा एक सय ८ केजी सुन भनेर केपी ओलीले पित्तल चढायो, छानबिन गरी पाउँ भनेर । पशुपतिमा चढाएको जलहरी भत्काएर, तौलिएर, सुन हो कि होइन घोटेर उधुम गरे । सुनै चढाएको रहेछ । कहाँ गयो त्यो कराउने अहिले ?’

एमाले अध्यक्ष ओलीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंले कम्बोडियाम तीन हजार करोड लगेर टेलिकममा लगानी गरेको आरोप लगाएका थिए ।