फिफा विश्वकप छनौटः नेपाल र यमनको खेल २-२ गोलको बराबरीमा



काठमाडौं । फिफा विश्वकप २०२६ एसियाली छनोटको दोस्रो चरणको अन्तिम खेलमा नेपालले यमनसँग बराबरी खेलेको छ । अघिल्ला पाँच खेलमा जित र गोलविहिन नेपालले साउदी अरबको दम्माम शहरस्थित प्रिन्स मोहमद विन फहद स्टेडियममा यमन विरुद्ध २–२ को बराबरी खेल्दै दोस्रो चरणको पहिलो अंक जोडेको हो ।

नेपालका लागि अग्रपंक्तीका सञ्जीव विष्ट र जिलेस्पी जंग कार्कीले १–१ गोल गरे । दुवै खेलाडीका लागि यो गोल अन्तराष्ट्रिय करियरको पहिलो गोल हो । नवौं मिनेटमा पेनाल्टीमार्फत नेपालले गोल खान पुगेको थियो । डि बक्सभित्र मनिष डाँगीले रमी अल–वासमानी माथि फाउल गरेपछि पाएको पेनाल्टीमा नसीम अल–गाहवाहीले गोल गर्दै यमनलाई अग्रता दिलाएका थिए ।


त्यसपछि नेपालले खेलको २३औं मिनेटमा बराबरी गोल गरेको हो । एक गोलले पछि परेको अवस्थामा डिफेन्डरले किपरका लागि खेलेको ब्याकपासमा बल भेटाउँदै सञ्जीवले बक्स भित्रबाट खेलमा बराबरी गोल गरेका थिए । ६६औं मिनेटमा नेपालले खेलमा अग्रता लियो। छिरिङ लामाले खेलेको क्रसमा सञ्जीवकै हेडर जिलेस्पीलाई लागेर गोलमा परिणत भएको थियो । तर इन्ज्युरी समयको पहिलो मिनेटमा यमनले मोहम्मद अल(दाहीको गोल मार्फत बराबरी गर्दै एक अंक लिन सफल भएको हो ।

जारी छनोटको दोस्रो चरणमा नेपालले छैटौं खेलमा आएर पहिलो गोल गरेको हो । यसअघि समूहको पाँचवटै खेलमा पराजित हुँदा नेपाल गोलविहिन बनेको थियो । यमनसँग बराबरी खेलेपछि समूह एचमा नेपालले १ अंक जोड्न सफल भएको छ । ६ खेलमा कूल २० गोल व्यहोरेको नेपालले जम्मा दुई गोल गर्‍यो । यमनले भने ६ मध्ये १ खेल जित्दा २ खेल बराबरी खेल्यो भने ३ खेलमा पराजित भयो ।

समूह एचको शीर्ष दुईमा नपरेपछि नेपाल र यमन दुवै फिफा विश्वकप छनोटको यात्राबाट बाहिरिसकेका छन् । अब नेपाल र यमनले एसियन कप २०२७ का लागि तेस्रो चरणका छनोट खेल्नेछन् ।