भारतीय जनता पार्टी (भाजपा) नेता अमित शाहले लगातार दोस्रो कार्यकालका लागि मङ्गलबार भारतको गृह मन्त्रालयको कार्यभार सम्हालेका छन् ।
जिम्मेवारी सम्हालेपछि दिएको पहिलो सार्वजनिक अभिव्यक्तिमा उनले नयाँ सरकारले देशको सुरक्षालाई अर्को तहमा पुर्याउने र भारतलाई आतङ्कवाद, विद्रोह र नक्सलवादविरुद्धको सुरक्षाकवचका रुपमा निर्माण गर्नेे बताए ।
प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो सरकारका ३० क्याबिनेट मन्त्रीको नयाँ सूचीमा शाहलाई गृहमन्त्रीको जिम्मेवारी तोकिएको छ ।
पदबहाल सम्हालेलगत्तै शाहले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत आफ्नो धारणा राख्दै भनेका छन्, “प्रधानमन्त्री नरेन्द्र मोदीजीको नेतृत्वमा मैले आज पुनः गृह मन्त्रालयको कार्यभार सम्हालेको छु । गृह मन्त्रालय देश र जनताको सुरक्षाका लागि सधैंजस्तै प्रतिबद्ध रहनेछ ।”
“प्रधानमन्त्री मोदीको तेस्रो कार्यकाल भारतको सुरक्षाको लागि आफ्नो प्रयासलाई थप उचाइमा पुर्याउनेछ र भारतलाई आतंकवाद, विद्रोह र नक्सलवादविरुद्ध एक सुरक्षाकवचको रूपमा निर्माण गर्नेछ,” शाहले एक्समा लेखेका छन् ।
यदि शाहले लगातार पाँच वर्ष काम गरे भने उनी भारतको इतिहासमा सबैभन्दा लामो समयसम्म गृहमन्त्री बन्ने व्यक्ति बन्नेछन् ।
यसअघि भारतीय राष्ट्रिय काङ्ग्रेसका गोविन्दबल्लभ पन्त र भाजपाका लालकृष्ण आडवाणी दुवैले ६ वर्ष केन्द्रीय गृहमन्त्रीको रूपमा काम गरेका छन् । शाह र भाजपाका पूर्वअध्यक्षसमेत रहेका रक्षामन्त्री राजनाथ सिंहले पाँच–पाँच वर्ष उत्तर भारतको राजनीतिक जिम्मेवारी सम्हालेका थिए ।