युद्धग्रस्त सुडानमा एक करोडभन्दा बढी विस्थापित



युद्धग्रस्त सुडानमा एक करोडभन्दा बढी मानिस विस्थापित भएका अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनले मङ्गलबार सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।

सन् २०२३ को अप्रिलमा सुडानी सेना र अर्धसैनिक र्यापिड सपोर्ट फोर्सेज’ बीच युद्ध सुरु भएयता ७२ लाख ६० हजार मानिस आफ्नो घर छोडेर भागेका छन् ।


सुडानमा युद्ध कम हुने कुनै सङ्केत देखिएको छैन र अनिकालको त्रासले देशलाई सताइरहेको छ । यसै तथ्यलाई लिएर संयुक्त राष्ट्रसङ्घले सुडान विश्वकै सबैभन्दा खराब विस्थापन सङ्कटबाट गुज्रिरहेको को सामना गरिरहेको बारम्बार बताउाँदै आएको छ ।

देशको चार करोड ८० लाख जनसङ्ख्यामध्ये एक चौथाइभन्दा बढी मानिस अहिले आफ्नो घर छोड्न बाध्य भएका छन् र २० लाखभन्दा बढीले अन्तर्राष्ट्रिय सीमा पार गरेका छन् ।

करिब ३७ लाख मानिस अर्थात् विस्थापितमध्ये एक तिहाइभन्दा बढी मानिस तहसनहस भएको सुडानको राजधानी खार्तूमबाट मात्र भागेका छन् । खार्तूम शहर अहिले आफ्नो पूर्वस्वको खोल बनेको छ र युद्धरत पक्षहरूबीच विभाजित छ ।

सुडानमा एक वर्षभन्दा केही बढीको अवधिमा युद्धले दशौं हजार मानिसहरूको ज्यान लिइसकेको छ । पश्चिम डार्फरको एउटा शहरमा मात्रै १५ हजारभन्दा बढी मानिसहरूको मृत्यु भएको छ।

सुडानका लागि अमेरिकी विशेष दूत टम पेरिएलोका अनुसार मृत्यु हुनेको सङ्ख्या अझै स्पष्ट छैन र एक लाख ५० हजारसम्मको अनुमान गरिएको छ ।

मानवीय सङ्कट झनै चर्किँदै जाँदा लाखौँको मृत्यु हुन सक्ने सहायता समूह र विज्ञहरूले चेतावनी दिएका छन् ।

आइओएमले भनेको छ, “सुडानमा विस्थापित भएकामध्ये ७० प्रतिशत ‘अनिकालको जोखिममा रहेर बाँच्न बाध्य छन्।”

संयुक्त राष्ट्रसङ्घका अनुसार सुडानमा एक करोड ८० लाख मानिस भोकमरीको चपेटामा छन् भने ३६ लाख बालबालिका कुपोषित छन् ।

सुडानमा विस्थापित भएकामध्ये करिब ५५ प्रतिशत १८ वर्षमुनिका र एक चौथाइ पाँच वर्षमुनिका बालबालिका रहेको आइओएमले जनाएको छ ।

सहायता निकायहरूले तथ्याङ्कको अभावका कारण अनिकालको आधिकारिक घोषणा हुन नसकेको बताएका छन् भने संयुक्त राष्ट्रसङ्घले दुवै पक्षलाई मानवीय पहुँचमा ‘व्यवस्थित अवरोध र जानाजानी इन्कार’ गरेको आरोप लगाएको छ ।