निर्माण रोकिएको शीतभण्डार पुन : सुरु गर्न किसानको आग्रह



टीकापुर (कैलाली) । टीकापुरमा निर्माणाधीन शीतभण्डारको काम रोकिएकाले पुनःसञ्चालन गर्न प्रयास थालिएको छ । शीतभण्डार निर्माण पुनः अगाडि बढाउन रानी जमरा कुलरिया सिँचाइ आयोजनाले शीतभण्डारको लागत अनुमान परिवर्तन गर्न थालेको छ ।

दाताले शीतभण्डारको जग निर्माणमा विश्वस्त हुन नसकेपछि विसं २०८० माघ २३ गतेबाट शीतभण्डार निर्माण रोकिएको थियो । निर्माण रोकिएको शीतभण्डारलाई पुनः सुरु गर्न आयोजनाले छलफल चलाएको छ । ढाँचा समीक्षा, इन्जिनियरहरुद्वारा पुनः लागत अनुमान, विश्व बैंकको समूहसित छलफल गरिएको छ । यही जेठ २४ गते निर्माण व्यवसायी र आयोजनाबीच निर्माण  सञ्चालन गर्न समयको भिन्नता र विस्तार गर्ने निर्णय भएको छ ।


एक हजार मेट्रिक टन क्षमताको शीतभण्डार निर्माणका लागि एएम किनारा जेभी धनगढीसँग २०८० असोज २९ गते सम्झौता भएको थियो । शीतभण्डारको निर्माण अवधि २०८१ पुससम्म छ । रु सात करोड छ लाख ६९ हजार छ सय ९० मा निर्माण गर्ने सम्झौता भएको छ । शीतभण्डारमा ८० प्रतिशत अर्थात् रु पाँच करोड ८५ लाख ३५ हजार सात सय ५२ आयोजना र २० प्रतिशत अर्थात् रु एक करोड ४१ लाख ३३ हजार नौ सय ३८ उपभोक्ताको लगानी रहनेछ । अहिलेसम्म रु ९३ लाख २५ हजार खर्च भएको छ ।

शीतभण्डार बनेपछि यहाँका किसानलाई विशेषगरी आलु र फलफूल भण्डारमा सहयोग मिल्ने अपेक्षा गरिएको छ । कृषि कार्यक्रम कार्यान्वयन एकाइका प्रमुख भरत कँडेलले कैलाली जिल्लामा पाँच हजार दुई सय २१ हेक्टर क्षेत्रफलमा आलुखेती हुने गरेको, यसमा ८५ हजार छ सय ७७ मेट्रिक टन आलु उत्पादन हुने गरेको बताए ।