समृद्ध नेपालको नेतृत्व जसपा, नेपालले मात्रै गर्नसक्छ, अरुले त दरिद्र नेपाल बनाउने हो : उपेन्द्र यादव



काठमाडौं । जनता समाजवादी पार्टी नेपालले कांग्रेस, कम्युनिष्टजस्ता पार्टीहरुले विकास, सुशासन, समृद्धि, सामाजिक न्याय र समाजवादको चर्को नारा लगाएपछि त्यो भ्रम फैलाउनुबाहेक अरु हुन नसक्ने टिप्पणी गरेको छ । जसपा, नेपालको एकता महाधिवेशनमा प्रस्तुत राजनीति प्रतिवेदनमा यस्तो उल्लेख गरिएको छ ।

कांग्रेस र कम्युनिष्टहरुको सोच, संस्कार र सिद्धान्तको सीमाले ती कार्यभार उनीहरुबाट पूरा हुने सम्भावना नभएको जसपा, नेपालको ठहर छ । प्रतिवेदनमा भनिएको छ–‘सुखी नेपाली, समृद्ध नेपाल’ नारा जतिसुकै रटेपनि व्यवहारतः त्यो ‘दरित्र नेपाल र दुःखी नेपाली’ नै हुनेछ । वैचारिक तथा संस्थागत संरचनात्मक दोषहरुले गर्दा चाहेर भएपनि उनीहरुले समृद्धिकरणको युगको नेतृत्व लिन सक्ने सम्भावना रहन्नँ । उपरोक्त कार्य हाम्रो पार्टी जनता समाजवादी पार्टी, नेपालले मात्र पूरा गर्न सक्दछ ।’


अध्यक्ष यादवले लेखेको प्रतिवेदनमा नेपालमा समाजवादी लोकतन्त्रको कार्यभार, समाजवादी मार्गचित्र तथा समाजवादी राज्य आफ्नो पार्टीबाट नै स्थापित हुने दाबी गरेका छन् । उनले भनेका छन्–‘समाजवादी लोकतन्त्रको कार्यभार, समाजवादी मार्गचित्र तथा समाजवादी राज्य न पुँजीवादबाट न कम्युनिष्टबाट न कांग्रेसबाट न त साम्यवादीबाट स्थापित हुन सक्छ । यो स्वाभावैले जसपा, नेपालको नेतृत्वमा मात्र सम्भव छ ।’