मलेसियाद्वारा खर्च घटाउन डिजेलमा दिइने अनुदानमा कटौती



मलेसियाले सरकारी खर्च कटौती गर्न र छिमेकी देशहरूमा इन्धन तस्करी रोक्न आजदेखि डिजेलमा दिइने अनुदान अन्त्य गर्नेछ ।

मलेसियामा डिजेलको मूल्य दक्षिणपूर्व एसियामा सबैभन्दा कम रहेको र तस्करहरूले प्रायः अनुदानको इन्धन किन्न थाइल्याण्ड जस्ता छिमेकी देशहरूमा उच्च मूल्यमा पुनः बेच्ने गर्छन् ।


“सोमबारदेखि, (मलेसिया) मा सबै पेट्रोल स्टेशनहरूमा डिजेलको मूल्य प्रति लिटर ३.३५ रिङ्गिटमा सेट गरिने जुन अनुदान बिनाको बजार मूल्य हो”, दोस्रो अर्थमन्त्री अमीर हमजाह अजिजानले पत्रकारहरूलाई भने ।

नयाँ मूल्य सहुलियत मूल्यभन्दा ५५ दशमलव ८ प्रतिशत बढी हुने र यसले सरकारलाई वार्षिक ४ अर्ब रिङ्गिट (८५२.८ मिलियन डलर) बचत गर्ने अपेक्षा गरिएको अर्थ मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।

मलेसियाले खाना पकाउने तेल र चामललगायत अन्य वस्तुहरूमा पनि अनुदान दिदै आएको तर बढ्दो मूल्यले खर्च बढाएको र सरकारको बजेटमा चोट पुगेको छ ।

मलेसियाले यस वर्ष अनुदान र सामाजिक सहयोगमा ५२.८ बिलियन रिङ्गिट खर्च गर्ने अपेक्षा गरिएको छ ।