मन्त्रिपरिषद्को १० निर्णय : प्रधानमन्त्रीको भारत भ्रमणदेखि राजदूत फिर्ता बोलाउनेसम्म



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतीय समकक्षी नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुने भएका छन् । आज (बिहीबार) बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री प्रचण्डलाई भारतीय समकक्षी मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन स्वीकृति प्रदान गरेको हो ।

‘सम्माननीय प्रधानमन्त्रीज्यूले भारतका प्रधानमन्त्रीको शपथ ग्रहण समारोहमा सहभागिता जनाउने निर्णय भएको छ,’– मन्त्रिपरिषद्को निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले भनिन् ।


मन्त्री शर्माका अनुसार प्रधानमन्त्रीसँग कति जनाको टोली जाने भन्ने अहिले टुङ्गो लागिसकेको छैन । भारतमा हालै सम्पन्न लोकसभा निर्वाचनपश्चत मोदीले आगामी आइतबार तेस्रो कार्यकालका लागि पद तथा गोपनीयताको शपथ लिँदैछन् ।

त्यसैगरी, मन्त्रिपरिषदले छिमेकी राष्ट्र भारतसहित अमेरिका, बेलायत, साउदी अरब, मलेसिया, स्पेन, पोर्चुगल, डेनमार्क, इजरायल, कतार, र दक्षिण कोरियाका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।

त्यस्तै, मेलम्ची नदीको माथिल्लो तटीय क्षेत्रको उपयुक्त स्थानमा नयाँ हेडवर्क्स र थप संरचनानिर्माण गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णयसमेत भएको छ ।

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरूः

  • प्रधानमन्त्री पुष्पकमल दाहालले भारतका प्रधानमन्त्रीको शपथग्रहण समारोहमा सहभागिता जनाउने।
  • लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने।
  • हेटौंडा सिमेन्ट उद्योगको अध्यक्ष पदमा नरेन्द्र भण्डारीलाई नियुक्त गर्ने।
  • औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको महाप्रबन्धक पदमा पदम ओलीलाई नियुक्त गर्ने।
  • मेलम्ची खानेपानी आयोजनाको नयाँ हेडवर्क्स र थप संरचना मेलम्ची नदीको माथिल्लो तटीय क्षेत्रको उपयुक्त स्थानमा निर्माण गर्न सैद्धान्तिक स्वीकृति दिने।
  • अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको कार्यकारी निर्देशक पदमा तेजबहादुर राईलाई तोक्ने।
  • जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ४९ को उपदफा १ बमोजिमका ५२ रोगहरुलाई सङ्क्राम रोगहरुको रुपमा तोक्ने।
  • जीवनाशक विषादी व्यवस्थापन नियमावली, २०८१ स्वीकृत गर्ने।
  • ज्येष्ठ नागरिकसम्बन्धी (पहिलो संशोधन) नियमावली, २०८१ स्वीकृत गर्ने।
  • भारत, अमेरिका, बेलायत, कतार, साउदी अरब, दक्षिण कोरिया, मलेशिया, स्पेन, पोर्चुगल, डेनमार्क र इजरायलका गरी ११ जना राजदूतलाई फिर्ता बोलाउने।